
हालसम्म कर्णाली प्रदेशमा विभिन्न जिल्ला गरी ५४.४६ प्रतिशतले रोपाइँ सम्पन्र भएको छ । गत वर्ष यसै समयमा करिब झन्डै ५० प्रतिशत सम्पन्न भएको थियो ।
गत वर्षको तुलनामा यस वर्ष मनसुन छिट्टै सक्रिय हुँदा देशभर धान रोपाइँ चाँडो सुरु भएको छ । मानो रोपेर मुरी फलाउने समय सधैँ आकाशे पानीको भर पर्नुपर्ने थियो । तर यस वर्ष मनसुन चाँडो सक्रिय भएकाले रोपाइँ पनि छिटो सूरू भएको हो । कृषि विभागका अनुसार हालसम्म देशभर १५.६ प्रतिशतले रोपाइँ सम्पन्न भैसकेको छ ।
पहाडी भेगका धेरैजसो क्षेत्रमा अहिले धान रोपाइँ सकिएको छ । विशेष गरी सिँचाइ सुविधा पुगेका तथा खोला–नाला आसपास रहेका खेतमा रोपाइँ सकिएको हो ।
देशभर अहिलेसम्म २ लाख १७ हजार २ सय ८९ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । यस आर्थिक वर्ष २०८२/०८३ मा कुल १३ लाख ९५ हजार २ सय ७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको विभागले जनाएको छ ।
कुन प्रदेशमा कति रोपाइँ सकियो ?
तथ्यांक अनुसार सबैभन्दा धेरै रोपाइँ कर्णाली प्रदेशमा ५४.४६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यसपछि सुदूरपश्चिम प्रदेशमा ४५.५ प्रतिशत, बागमती २०.५ प्रतिशत, कोशी प्रदेश १४.३ प्रतिशत, गण्डकी प्रदेश १३.८ प्रतिशत, लुम्बिनी प्रदेश ९.७ प्रतिशत, मधेस प्रदेश ३.९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
गत आर्थिक वर्ष २०८०/०८१ मा देशभर १४ लाख २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ गरिएको थियो । सोही वर्ष धान उत्पादनमा पनि करिब ४ प्रतिशतले वृद्धि भएको कृषि विभागले जनाएको छ । मनसुन छिट्टै सक्रिय हुँदा आकासे पानीको भरमा धान रोप्नुपर्ने कर्णालीका अधिकांश ठाउँमा रोपाइँ भइरहेको छ ।
कर्णालीका कुन जिल्लामा कति ?
कर्णालीमा मनसुन छिट्टै सक्रिय हुँदा आकाशे पानीको भरमा धान रोप्नुपर्ने कर्णाली प्रदेशका जिल्लाहरू रोपाइँ धमाधम भइरहेको छ । हालसम्म कर्णाली प्रदेशमा विभिन्न जिल्ला गरी ५४.४६ प्रतिशतले रोपाइँ सम्पन्र भएको बागवानी विकास अधिकृत तथा सूचना अधिकारी टेकराज रेग्मीले बताए ।
गत वर्ष भन्दा यस वर्ष समयमै मनसुन सक्रिय भएपछि कर्णालीमा रोपाइँ केही प्रतिशत बढी भएको छ । कर्णालीमा गत वर्ष यसै समयमा करिब झन्डै ५० प्रतिशत सम्पन्न भएको थियो ।
कृषि निर्देशनालयका अनुसार पहाडी जिल्लाका धेरैजसो ठाउँमा रोपाइँ भइसकेको छ । सिँचाइ सुविधा भएका र खोला आसपासका खेतमा रोपाइँ सकिएको छ । मध्य असारसम्म सबैभन्दा बढी डोल्पामा ९५ प्रतिशतले रोपाइँ सम्पन्न भएको अधिकारी रेग्मीले बताए । उनकाअनुसार जुम्ला र हुम्लामा ९२/९२ प्रतिशत रोपाइँ भएको छ ।
सल्यानमा ७८, रुकुम–पश्चिममा ७०, मुगुमा ५७, जाजरकोटमा ५३, दैलेखमा ४२, कालिकोटमा ५२ र सुर्खेतमा ३९ प्रतिशत रोपाइँ भएको उनले बताए ।
कर्णालीमा धान खेती हुने ४० हजार ८ सय ८४ हेक्टर क्षेत्रफल मध्ये २२ हजार २ सयभन्दा बढी हेक्टर क्षेत्रफलमा धान रोप्ने काम सकिएको हो । कर्णाली प्रदेशमा खास गरी मार्सी, हाइब्रिड, शङ्कर, खुक्खा, राधा, दुर्गा जातका धान लगाउने गरिन्छ । यी जातका धानको उत्पादनसमेत बढी हुने गरेको छ । विगतमा जस्तो रासायनिक मल अभावको समस्या नहुँदा पनि किसानले समयमै धान रोप्न पाएका हुन् ।
मौसमले साथ दिँदा किसानमा खुसी
कर्णालीका अधिकांश स्थानमा यस वर्ष समयमै वर्षा भएको छ । चौकुने गाउँपालिका अन्तर्गतका कृषकहरू रोपाइँ सम्पन्न गरेर केही राहत महसुस गरिरहेका छन् । तर, निरन्तर वर्षा नहुने डरले उनीहरू चिन्तामा छन् ।
चौकुने गाउँपालिका २ का कृषक भक्त बन्तोलाले अहिले पानी परेर आफुहरुलाई राहत भएता पनि आगामी दिनमा पानी पर्ने चिन्ता लागेको बताए । ‘केही दिन अघि त पानी पर्याे, तर हिजो आज पानी परेको छैन्।’ उनले भने, ‘यही अवस्थामा घाम लागिरह्यो भने बिउ उम्रिँदैन कि भन्ने डर छ । बर्खा पूरा नहुँदै सुक्खा पर्यो भने पुरै मेहनत खेर जान्छ ।
यस्तै वीरेन्द्रनगरका ओम सोमैले चाँडै झरी परेको बताउँदै यस वर्षको रोपाइँ राम्रो भएको बर्ता । उनले अब अझै दुई–तीन हप्ता पानी परिरहेमा किसानलाई राहत हुने बताए ।











प्रतिक्रिया दिनुहोस्