२०८३ कात्तिक ११ , मंगलबार

डोल्पाका किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुदृढीकरणका लागि त्रिपक्षीय समझदारी



डोल्पाका किशोरी तथा युवा महिलाको यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (SRHR) सुदृढीकरण गर्ने उद्देश्यले त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।

‘Breaking Barriers for Girls’ Sexual and Reproductive Health and Rights in Dolpa (BBaGS)’ परियोजनाको प्रभावकारी कार्यान्वयन, अनुगमन, समीक्षा तथा सिकाइ आदानप्रदानका लागि कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, प्लान इन्टरनेशनल नेपाल र किडार्क नेपाल बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझदारीपत्रमा सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव रोशनी कुमारी श्रेष्ठ, प्लान इन्टरनेशनल नेपालका निमित्त क्षेत्रीय प्रबन्धक विनय ज्ञवाली र किडार्क नेपालका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले हस्ताक्षर गरेका छन्। हस्ताक्षरपछि सम्बन्धित पक्षले समझदारीपत्रका प्रति एक–अर्कालाई आदानप्रदान गरेका थिए।

BMZ (Federal Ministry for Economic Cooperation and Development of Germany) को आर्थिक सहयोग, प्लान इन्टरनेशनल नेपालको प्राविधिक सहयोग तथा प्लान इन्टरनेशनल नेपाल र किडार्क नेपालको साझेदारीमा परियोजना सञ्चालन हुनेछ।

परियोजनाले डोल्पाका ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका किशोर–किशोरी तथा युवा महिलालाई लक्षित गर्दै बालविवाह न्यूनीकरण, बालिका तथा किशोरीको शिक्षा, स्वास्थ्य, संरक्षण, सहभागिता र सशक्तीकरणका क्षेत्रमा काम गर्नेछ। साथै, किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुदृढीकरण, स्थानीय सरकार तथा शैक्षिक र स्वास्थ्य संस्थाको क्षमता विकास तथा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवामा पहुँच अभिवृद्धिमा जोड दिइनेछ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव रोशनी कुमारी श्रेष्ठले परियोजनाअन्तर्गत सञ्चालन हुने गतिविधि सरकारका प्राथमिकतासँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको बताइन्। उनले डोल्पाका २५ वटै वडालाई बालविवाहमुक्त बनाउन तथा बालिका र किशोर–किशोरीको शिक्षा, स्वास्थ्य र संरक्षणमा परियोजनाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

परियोजनाका सफल गतिविधिले कर्णाली प्रदेशको विकास सूचकांक सुधारमा समेत योगदान पुर्‍याउने भन्दै उनले परियोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालयका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्लान इन्टरनेशनल नेपालका निमित्त क्षेत्रीय प्रबन्धक विनय ज्ञवालीले परियोजनाले लक्षित समुदाय, विशेषगरी बालिका तथा किशोरीको सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। परियोजनाको सफल कार्यान्वयनका लागि सामाजिक विकास मन्त्रालयलगायत सरोकारवाला निकायको निरन्तर सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

किडार्क नेपालका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले संस्थाको स्थापना र विकासबारे जानकारी दिँदै करिब २७ वर्षअघि मुगुमा फैलिएको झाडापखालाको प्रकोप नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले काठमाडौंमा अध्ययनरत विद्यार्थीहरूले सिंहदरबारमा लालटिन बालेर दबाब सिर्जना गरेको अभियानबाट संस्थाको सुरुआत भएको बताए।

उनले किडार्क नेपालले हाल राष्ट्रियस्तरमा कार्यक्षेत्र विस्तार गर्दै वञ्चितीकरणमा परेका समुदायको संरक्षण, शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन तथा मानवीय सहायताका क्षेत्रमा काम गर्दै आएको जानकारी दिए। BBaGS परियोजनामार्फत कर्णालीका किशोरीको शिक्षा, स्वास्थ्य, संरक्षण, सहभागिता र विकासमा योगदान पुर्‍याउने भन्दै उनले सबै सरोकारवालाबीच समन्वय, सहकार्य र साझेदारी आवश्यक रहेको बताए।

परियोजनाका विज्ञ सन्तोष कुमार पुलामी मगरले परियोजनाको उद्देश्य, हालसम्म हासिल उपलब्धि तथा आगामी गतिविधिबारे जानकारी दिएका थिए। उनका अनुसार परियोजनाअन्तर्गत व्यापक यौनिकता शिक्षा, किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा, सामुदायिक सचेतना, लैङ्गिक समानता तथा सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिनेछ।

त्यसैगरी, लक्षित स्थानीय तहका २० विद्यालय र १० स्वास्थ्य संस्थामा किशोरीमैत्री भौतिक पूर्वाधार निर्माण तथा सुधारका कामसमेत गरिने उनले जानकारी दिए।

परियोजनाको प्रगति अनुगमन, समस्या समाधानमा सहजीकरण, उपलब्धि तथा सिकाइ आदानप्रदान र दीर्घकालीन संस्थागत अपनत्व सुनिश्चित गर्न सामाजिक विकास मन्त्रालयका प्रदेश सचिवको नेतृत्वमा निर्देशक समिति गठन गरिने भएको छ। उक्त समितिमार्फत परियोजनाको कार्यान्वयन, अनुगमन, समीक्षा तथा सिकाइ आदानप्रदानलाई थप प्रभावकारी बनाउने समझदारी भएको छ।

हस्ताक्षर कार्यक्रममा सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख, शैक्षिक तथा सामाजिक विकास महाशाखा प्रमुख, शिक्षा विकास निर्देशनालयका प्रमुख तथा स्वास्थ्य सेवा निर्देशनालयका प्रमुखलगायतको सहभागिता थियो।

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।