सरकारले आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न तयार पारिएको विधेयकको मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो। मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत गराई संसद्मा पेस गर्ने तयारी भइरहेको उनले जानकारी दिएकी छन्।
मन्त्री गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रस्तावित व्यवस्थाबारे जानकारी दिँदै बदलिँदो जीवनशैली र कामको बढ्दो चापका कारण पछिल्लो समय अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित हुँदै गएको उल्लेख गरेकी छन्।
उनका अनुसार यस्तो अवस्थामा बच्चा जन्मिएपछि आमाबुबाले नवजात शिशु तथा परिवारलाई पर्याप्त समय दिन सक्ने वातावरण निर्माण गर्नु राज्यको जिम्मेवारी हो।
प्रस्तावित व्यवस्थाअनुसार आमाले कम्तीमा ६ महिनासम्म तलबसहित प्रसूति बिदा पाउने र बुबाले ४२ दिनसम्म तलबसहित प्रसूति स्याहार बिदा पाउनेछन्। विधेयक संसद्बाट पारित भएर कानुनी रूप लिएपछि मात्र यो व्यवस्था कार्यान्वयनमा आउनेछ।









