२०८३ भदौ २६ , शुक्रबार

आठबीसकोटका मेयर रवि केसीसहित ११ जनाविरुद्ध १ करोड ७१ लाख भ्रष्टाचार मुद्दा



रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका नगर प्रमुख रवि केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठबीसकोट दुग्ध सहकारी संस्था लिमिटेडका नाममा चिस्यान केन्द्र निर्माण तथा दुग्ध ढुवानीका लागि गाडी खरिद गर्न सरकारबाट प्राप्त अनुदान दुरुपयोग गरी १ करोड ७१ लाख ४० हजार ९२४ रुपैयाँ हिनामिना भएको ठहर गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार सहकारीले अनुदानका लागि आवश्यक मापदण्ड र योग्यता पूरा नगरे पनि कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा प्रक्रियाविपरीत अनुदान उपलब्ध गराइएको थियो।

साथै, चिस्यान केन्द्र स्थापना भएको दुई वर्षसम्म सञ्चालनमा नआएको थाहा हुँदाहुँदै थप अनुदान उपलब्ध गराएर सरकारी रकम दुरुपयोग गरिएको अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानका क्रममा चिस्यान केन्द्र निर्माणका लागि विनियोजित ९१ लाख १७ हजार ८७३ रुपैयाँ तथा मिल्क ट्याङ्कर र गाडी खरिदका लागि उपलब्ध गराइएको ८० लाख २३ हजार ५१ रुपैयाँ गरी कुल १ करोड ७१ लाख ४० हजार ९२४ रुपैयाँ हिनामिना भएको अख्तियारले जनाएको छ।

सहकारीका अध्यक्ष जनक बटालाले डेरी सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै नगरपालिका र प्रदेश सरकारबाट अनुदान लिए पनि दुई वर्षसम्म डेरी सञ्चालन नगरेको तथा सरकारी बजेटबाट खरिद गरिएका सवारीसाधन व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको अनुसन्धानबाट पुष्टि भएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

मेयर रवि केसीविरुद्ध ८० लाख २३ हजार ५१ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको माग गरिएको छ।

यस मुद्दामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह, पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका तत्कालीन निमित्त कार्यालय प्रमुख सुवर्णसिंह ठकुरी, पशु स्वास्थ्य अधिकृत ज्ञानकुमार शर्मा, पशु सेवा अधिकृत शेरबहादुर खड्का, लेखा अधिकृत यमबहादुर पुन, कृषि विकास कार्यालयका कृषि अधिकृत मीनबहादुर केसी तथा आठबीसकोट दुग्ध सहकारी संस्थाका अध्यक्ष जनक बटाला, उपाध्यक्ष वीरबहादुर रोकाया, सचिव गोविन्दप्रकाश खड्का र कोषाध्यक्ष जुनकुमारी चनेललाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारले सबै प्रतिवादीबाट बिगो असुलउपर, जरिवाना तथा कैद सजायको माग गर्दै काठमाडौँस्थित विशेष अदालतमा आरोपपत्र दर्ता गरेको जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन २१ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।