राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनलाई केन्द्रित गर्दै देशभर पार्टी संगठन विस्तार तथा अधिवेशन अभियान सञ्चालन गर्ने भएको छ । वडा, पालिका, जिल्ला र प्रदेश तहका भेला तथा अधिवेशन सम्पन्न गराउने उद्देश्यले पार्टीका शीर्ष नेताहरुलाई जिल्ला–जिल्लामा जिम्मेवारी तोकिएको हो ।
पार्टीले केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, सांसद, संघीय नेतृत्व मञ्च तथा विभिन्न विभागमा रहेका नेताहरुलाई जिल्ला अनुसार जिम्मेवारी बाँडफाँट गरेको जनाएको छ । उनीहरूले सम्बन्धित जिल्लामा भेला तथा अधिवेशनको समन्वय गर्नेछन् ।
कसलाई कहाँ खटाइयोः
रास्वपाले असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । सोही तयारीस्वरूप पार्टीले सबै तहका संरचनाको अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो ।
तदर्थ समिति गठन हुन नसकेका वडाको भेला जेठ २ गते सम्पन्न गरिएको थियो भने वैशाख २० गतेअघि तदर्थ समिति बनेका वडाको अधिवेशन जेठ ३ गते गरिएको छ । अर्को चरणको वडा अधिवेशन जेठ १६ गतेका लागि तय गरिएको पार्टीले जनाएको छ ।
यस्तै, पालिका भेला जेठ ९ गते तथा पालिका अधिवेशन जेठ १० र १७ गते गर्ने कार्यतालिका छ । जिल्ला अधिवेशन जेठ २३ र २४ गतेका लागि तोकिएको छ भने प्रदेश अधिवेशन जेठ २६ गतेदेखि सुरु भई असार १ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
केन्द्रीय तहबाट खटाइएका प्रतिनिधिलाई विशेष कार्यादेशसमेत दिइएको छ । वडा, पालिका वा जिल्ला तहमा भेला हुन नसकेका स्थानमा केन्द्रीय प्रतिनिधिले समन्वय गरेर भेला बोलाउने, तदर्थ समिति गठन गर्ने तथा अधिवेशन सम्पन्न गराउन सहजीकरण गर्ने जिम्मेवारी पाएका छन् ।
रास्वपाले वडा र पालिकामा कम्तीमा ३० प्रतिशत अधिवेशन सम्पन्न भए पनि माथिल्लो तहको अधिवेशन गर्न सकिने व्यवस्था गरेको छ । प्रतिनिधि छनोट गर्दा अधिकांश सांसदलाई आफ्नै जिल्ला जिम्मेवारी दिइएको पार्टीले जनाएको छ ।









