सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर–टहरा हटाउन ७ दिने अल्टिमेटम दिएको छ।

नगरपालिकाले सूचना प्रकाशित गर्दै तोकिएको अवधिभित्र अतिक्रमण गरी बनाइएका संरचना सम्बन्धित पक्षले स्वयं हटाउन निर्देशन दिएको हो।
नगरपालिकाका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय को पत्रअनुसार सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने निर्देशन प्राप्त भएपछि सोही आधारमा अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको हो।
चालु आर्थिक वर्ष २०८२–०८३ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटअनुसार वीरेन्द्रनगर नगरपालिका–८ मा महिला व्यवसायिक भवन निर्माणको काम अघि बढाउने क्रममा उक्त क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण भएको पाइएको नगरपालिकाले जनाएको छ।
सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अतिक्रमण गरी बनाइएका संरचना स्वयं हटाउन आग्रह गरिएको छ। तोकिएको अवधिभित्र संरचना नहटाइएमा प्रचलित कानूनअनुसार नगरपालिकाले आफैं हटाउने तथा त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने चेतावनी दिइएको छ।









