हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार यस प्रभावका कारण देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने अनुमान गरिएको छ।
बुलेटिनअनुसार कोशी प्रदेश सहित बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश का पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ।
त्यसैगरी मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको छ।
समग्रमा देशका हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहने भए पनि केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।











प्रतिक्रिया दिनुहोस्