श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राई ले केही दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने बताएका छन्।
नयाँ वर्ष २०८३ को सुरुवातको दिन मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले चाँडै सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणा गरेका हुन्।
साम्पाङले वैदेशिक रोजगारीबाट जोडेको केही रकम र सुनबाहेक आफ्नो नाममा कुनै पनि जमिन नरहेको दाबी गरेका छन्। उनका अनुसार बाउबाजेले कमाएको पैतृक सम्पत्ति आमाको नाममा खोटाङको केपिलाशगढी–२ चोखाने गाउँमा रहेको छ, जहाँ पाखारेखा, खरबारी, बाँस र उतिस घारीसहित केही खेतबारी रहेको उल्लेख गरेका छन्।
उनले उक्त सम्पत्तिमा दाजु–दिदीहरूले अंश नलिएको पनि बताएका छन्। साथै, आफ्नो नाममा ४–५ तोला सुन वैदेशिक रोजगारीबाट जोडिएको र बैंक मौज्दात करिब २–४ लाख रुपैयाँ मात्र रहेको उल्लेख गर्दै छिट्टै औपचारिक रूपमा सम्पत्ति विवरण सार्वजनिक गर्ने बताएका छन्।











प्रतिक्रिया दिनुहोस्