कर्णाली उत्सव ‘कुडा कर्नाली’को सातौँ संस्करण भोलि (शनिबार)देखि सुरु हुने भएको छ।
वीरेन्द्रनगरस्थित सिटी हल बाहिरको प्रांगणमा आयोजना हुने उत्सव तीन दिनसम्म सञ्चालन हुनेछ।

आयोजकले शुक्रबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिँदै उत्सवमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने जनाएको छ। सिने क्षेत्रका महानायक राजेश हमाल देखि जेन–जी आन्दोलनकी अगुवा रक्षा बम सम्म वक्ताका रूपमा सहभागी हुनेछन्।
उत्सवका संयोजक कमलराज लम्साल का अनुसार, कार्यक्रम शनिबार, आइतबार र सोमबार गरी तीन दिनसम्म चल्नेछ।
उनले उत्सवलाई “कर्णालीको भूगोल, संस्कृति र सम्भावनामाथि विचार मन्थन गर्ने साझा चौतारी”का रूपमा वर्णन गरे।
हरेक वर्ष फागुन ५, ६ र ७ गते आयोजना हुँदै आएको उत्सव यस वर्ष आम निर्वाचनका कारण चैत मसान्तमा सारिएको हो। उत्सवले सकारात्मक सोचको प्रवर्द्धन गर्दै विचारमार्फत विकास सम्भव छ भन्ने मान्यता स्थापित गर्न प्रयासरत रहेको आयोजकको दाबी छ।
यस वर्षको संस्करणमा तीन दिनमा १५ वटा मुख्य सत्र र १० वटा साना सत्रहरू आयोजना गरिनेछन्। कर्णालीमा जन्मिएर उदाहरणीय कार्य गरेका तीन व्यक्तिले आफ्ना संघर्ष र सफलताका कथा सुनाउने कार्यक्रम पनि समावेश गरिएको छ।
उत्सवमा ‘नारी नेतृत्व’, ‘सिमान्त मान्छेका स्वर’, ‘प्रतिरोधका पाइला’, ‘कर्णालीका सपना’ जस्ता विषयमा बहस हुनेछन्। साथै, छवटै राष्ट्रिय दलका सांसदहरूसँग संवाद, जेन–जी पुस्ताको प्रभाव, तथा ‘कनेक्टिङ कर्णाली’ अन्तर्गत ऊर्जा र प्रविधिको विकासबारे विमर्श गरिनेछ।
यस्तै, महानायक राजेश हमालसँग ‘नखिचिएका सिनेमा’ शीर्षकमा विशेष संवाद र उपल्लो कर्णालीको रैथाने उपचार पद्धति ‘रोवा रिग्पा’बारे पनि चर्चा गरिने कार्यक्रम रहेको छ।
उत्सवका लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक संस्था जनाएको छ।











प्रतिक्रिया दिनुहोस्