संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आज बस्ने बैठकले नयाँ उपसभामुख चयन गर्ने भएको छ। दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुख निर्वाचन कार्यसूची तय गरिएको छ।

उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर बीच प्रतिस्पर्धा हुने भएको हो। उम्मेदवारी दर्ताका लागि तोकिएको समयभित्र दुवै जनाको मात्र उम्मेदवारी परेको संसद् सचिवालयले जनाएको छ।
ठाकुरको उम्मेदवारीमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई प्रस्तावक रहेका छन् भने समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरी तथा श्रम संस्कृतिकी सांसद अम्बिकादेवी निरौला रहेका छन्।
यस्तै, लामाको उम्मेदवारीमा राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही प्रस्तावक रहेका छन् भने समर्थकमा राप्रपाकै सांसदहरू खुश्बु ओली, ताहिर अली र भरत गिरी रहेका छन्।
प्रतिनिधिसभामा सत्तारुढ दल रास्वपाको स्पष्ट बहुमत रहेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको एक्लै १८२ मत रहेको हुँदा रास्वपाले समर्थन गरेमा रुवीकुमारी ठाकुर उपसभामुखमा निर्वाचित हुने लगभग निश्चित देखिएको छ।











प्रतिक्रिया दिनुहोस्