२०८३ वैशाख ८ , मंगलबार

सल्यानमा अवैध बालुवा–गिट्टी उत्खननविरुद्ध कडाइ, २५ ट्याक्टर नियन्त्रणमा



सल्यान जिल्लामा अवैध रूपमा बालुवा तथा गिट्टी उत्खनन र ओसारपसार गर्ने गतिविधिविरुद्ध प्रहरीले कडाइ गरेको छ।

सक्रिय अनुगमनका क्रममा पछिल्लो चार दिनभित्र २५ वटा ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रहरीका अनुसार शारदा, थारमारे, लुहाम र सल्ली लगायतका खोला तथा नदी क्षेत्रबाट अवैध उत्खननमा संलग्न ट्याक्टरहरू पक्राउ परेका हुन्।

नियन्त्रणमा लिइएका सवारी साधनहरू सम्बन्धित प्रहरी चौकीमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईले पछिल्लो समय यस्ता गतिविधिमा संलग्न सवारी साधनमाथि निगरानी बढाइएको बताए।

उनका अनुसार नियमविपरीत सञ्चालन हुने ट्याक्टरहरू नियन्त्रणमा पर्न थालेपछि अवैध उत्खननमा केही कमी आएको देखिएको छ।

प्रहरीले जिल्लाभर अनुगमन तथा नियन्त्रण अभियानलाई निरन्तरता दिएको जनाएको छ। विशेषगरी नदी तथा खोलानालाबाट अनुमति बिना प्राकृतिक स्रोत दोहन गर्ने कार्य रोक्न कडाइ गरिएको छ।

साथै, अनुमति बिना यस्ता गतिविधिमा संलग्न नहुन र नगराउन सरोकारवालासँग आग्रह गरिएको छ। नियम उल्लङ्घन गर्ने जोकोहीलाई कानुनअनुसार कारबाही गरिने चेतावनी समेत प्रहरीले दिएको छ।

प्रकाशित मिति : २०८२ चैत २२ गते आइतबार