२०८३ वैशाख ८ , मंगलबार

सामुदायिक वनको रकम हिनामिना प्रकरण: रास्वपा कर्णाली सहमहामन्त्री अधिकारीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



सामुदायिक वन उपभोक्ता समितिको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कर्णाली प्रदेश सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

आयोगका अनुसार सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरूले आपसी मिलेमतोमा समितिको रकम अनियमित रूपमा खर्च गरी हिनामिना गरेको पुष्टि भएको छ। आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्मको अवधिमा समितिको निर्णयबिना, बिल–भरपाईबिना तथा कार्ययोजना नै नबनाई विभिन्न शीर्षकमा खर्च देखाइएको पाइएको छ।

अनुसन्धानका क्रममा काठ बिक्रीबाट प्राप्त रकम समितिको खातामा दाखिला नगरी निजी रूपमा प्रयोग गरिएको, नर्सरी व्यवस्थापन, सडक निर्माण, लेखापरीक्षण शुल्क लगायत शीर्षकमा नक्कली कागजात तयार गरी रकम भुक्तानी गरिएको भेटिएको आयोगले जनाएको छ।

त्यस्तै, वनसम्बन्धी मुद्दामा अधिवक्तालाई समितिको खाताबाट रकम भुक्तानी गरिएको तथा मुद्दा र साक्षी खर्चका नाममा समेत रकम दुरुपयोग गरिएको उल्लेख गरिएको छ।

आयोगका अनुसार उक्त प्रकरणमा अध्यक्ष अमरबहादुर दानी, कोषाध्यक्ष सावित्रा अधिकारी, सचिव तेजेन्द्रबहादुर वयक क्षेत्री, सदस्य हरिप्रसाद अधिकारीलगायत पाँच जनाले मिलेमतोमा कुल १२ लाख १८ हजार ५१२ रुपैयाँ हिनामिना गरेको देखिएको छ।

उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद, जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरिएको आयोगले जनाएको छ। साथै, घटनासँग सम्बन्धित दर्तावाल लेखापरीक्षकमाथि समेत छुट्टै कसुरमा मुद्दा दायर गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत २० गते शुक्रबार