१६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लागेका चार किशोरलाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन आदेश दिएको छ।

जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासले अनुसन्धान प्रक्रिया पूरा नभएसम्म उनीहरूलाई बालसुधार गृहमै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश दिएको हो। अदालतले जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा प्रारम्भिक प्रमाण र घटनाको प्रकृति गम्भीर देखिएको ठहर गर्दै यस्तो निर्णय गरेको हो।
अदालतका सूचना अधिकारी उज्वल रावलका अनुसार घटनासँग सम्बन्धित प्रमाण, अनुसन्धानको अवस्था तथा अभियोगको प्रकृति हेर्दा अनुसन्धान नसकिँदासम्म थुनामै राख्नु आवश्यक देखिएको हो। कानुनी व्यवस्थाअनुसार उनीहरूलाई कारागार नभई बालसुधार गृहमा राखिनेछ।
गत फागुन २३ गते बिहान विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी वीरेन्द्रनगर–१ निवासी १६ वर्षीया इनिशा सोही दिन घर नजिकैको जंगलमा अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रबाट उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले अनुसन्धान सुरु गर्दै घटनास्थलबाटै उनका प्रेमी भनिएका १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको थियो। सोधपुछ र बयानका आधारमा प्रहरीले थप तीन किशोरलाई पनि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका किशोरले इनिशासँग शारीरिक सम्पर्क भएको र त्यसपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको बयान दिएका छन्।
यद्यपि, जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्षसहित चारै जनाविरुद्ध अदालतमा अभियोगपत्र दर्ता गरेको छ।
यस घटनाको न्यायिक प्रक्रिया सुरु भइसके पनि पीडित परिवार भने अझै आन्दोलनरत छन्। दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्दै परिवारले शव नउठाउने अडान लिएका छन्। परिवारको उक्त अडानका कारण इनिशाको शव विगत २५ दिनदेखि कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ।











प्रतिक्रिया दिनुहोस्