सुर्खेतकाे वीरेन्द्रनगर-४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा फागुन २३ गते १६ वर्षीया इनिशा विकको हत्या भएको घटनामा निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवार र आफन्तले फागुन २७ गते वीरेन्द्रनगर बजार तथा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

‘बालिकामाथि हुने बलात्कार, हत्या र हिंसा बन्द गर’, ‘इनिशालाई न्याय देऊ’ र ‘हत्यारालाई कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्डसहित पीडित परिवार र आफन्तले खबरदारी र्याली निकाल्दै विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा मृतककी आमा तारा विकले प्रमुख जिल्ला अधिकारीलाई भेटेर ध्यानाकर्षण पत्र समेत बुझाएकी छन्।
फागुन २३ गते बिहान ‘प्रयोगात्मक कक्षा छ’ भन्दै घरबाट निस्किएकी इनिशा करिब बिहान ९ बजेतिर वीरेन्द्रनगर-४ स्थित शहीद पार्क नजिकको जंगलमा बेहोस अवस्थामा फेला परेकी थिइन्।
उनीसँगै रहेका वीरेन्द्रनगर-९ का १६ वर्षीय बालकलाई प्रहरीले सोही दिन घटनास्थलबाट नियन्त्रणमा लिएको थियो।
इनिशा गुर्भाकोट नगरपालिका-६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर-१ मा बस्दै आएकी थिइन्। मृतकका आफन्तले इनिशामाथि सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीलाई कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय दिनुपर्ने माग गर्दै आएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आशंकामा १५, १६ र १७ वर्षका थप तीन जना बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ।
प्रहरीका अनुसार इनिशामाथि बलात्कार भएको वा नभएको भन्ने विषयमा चिकित्सकीय रिपोर्ट आउन बाँकी रहेको छ। इनिशा वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा थिइन्।
परिवारका अनुसार उनी बिहान ८ बजेसम्म फर्किने जानकारी गराएर घरबाट निस्किएकी थिइन्। तर निर्धारित समयमा घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो। आमा तिला विकका अनुसार छोरीलाई फोन गर्दा मोबाइल स्विच अफ थियो। विद्यालयमा पनि सम्पर्क हुन सकेको थिएन।
केही समयपछि अपरिचित नम्बरबाट फोन गर्दै कसैले ‘तपाईंकी छोरी शहीद पार्कको जंगलमा बेहोस अवस्थामा छिन्’ भनेर जानकारी गराएको थियो।
घटनास्थल पुग्दा इनिशाको शरीर रक्ताम्मे अवस्थामा रहेको, कपाल लुछिएको, घाँस मडारिएको र एकातिर जुत्ता तथा अर्कोतिर मोजा परेको अवस्थामा भेटिएको आफन्तले बताएका छन्।
मृतकका आफन्तले सामूहिक बलात्कारपछि हत्या भएको आशंका गर्दै फागुन २४ गते उजुरी दिएका थिए। सोही आधारमा प्रदेश अस्पताल सुर्खेतमा शवको पोस्टमार्टम गरिएको छ। हालसम्म परिवारले शवको अन्त्येष्टि गरेका छैनन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी मोहनजंग बुढथापाका अनुसार प्रारम्भिक अनुसन्धानबाट इनिशामाथि बलात्कारपछि मृत्यु भएको देखिएको छ। घटनामा निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने परिवारले अडान लिएका छन् ।
प्रहरीले भने घटनाबारे निष्पक्ष रूपमा अनुसन्धान भइरहेको जनाएको छ।











प्रतिक्रिया दिनुहोस्