सुर्खेतको वीरेन्द्रनगर नजिकैको छिन्चु क्षेत्रमा शंकास्पद वस्तु फेला परेको छ। भेरीगंगा नगरपालिका-१० राताचौर स्थित छिन्चु–जाजरकोट सडकखण्डमा मंगलबार बिहान उक्त वस्तु भेटिएको हो।
सडक किनारमा रातो प्लास्टिकले बेरिएको प्रेसर कुकरमा ‘खतरा’ लेखिएको अवस्थामा शंकास्पद वस्तु देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरी निरीक्षक प्रकाश के.सीले जानकारी दिए। उनका अनुसार सडक छेउमा शंकास्पद वस्तु भेटिएको खबर आएलगत्तै क्षेत्रलाई सुरक्षा घेरामा राखिएको छ।
प्रहरीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा सर्वसाधारणको आवतजावतमा रोक लगाएको छ। हाल आवश्यक सुरक्षा सतर्कता अपनाइएको र स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
शंकास्पद वस्तुको प्रकृति पहिचान गर्न नेपाली सेनासँग समन्वय भइरहेको जनाइएको छ। सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर जाँच तथा निष्क्रिय पार्ने प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया दिनुहोस्