२०८३ वैशाख १० , बिहीबार

सल्यानमा रास्वपाको झण्डा टाँगिएको जिपबाट मदिरासहित सामग्री बरामद



सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डा टाँगिएको जिपबाट मदिरासहित विभिन्न सामग्री बरामद भएपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

सोमबार वनगाड कुपिण्डे नगरपालिका–१, सल्लीबजारमा निर्वाचनलाई प्रभावित पार्न सामग्री वितरण हुन सक्ने आशंकामा क.प्र.०२–००१ च ०४२९ नम्बरको बोलेरो जिप रोकेर जाँच गर्दा मदिरासहितका सामग्री फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीका अनुसार जिपमा सवार ३७ वर्षीय मोहन बीसी वडा नं. ५ खैरागारतर्फ जाँदै थिए।

जिपबाट २५ केजीका दुई बोरा चामल, सात कार्टुन मदिरा (२१० थान), तीन कार्टुन खाने तेल (३० बोतल) र दुई कार्टुन बियर (२४ बोतल) बरामद गरिएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका व्यक्ति र सामग्रीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय देवस्थलमा राखिएको छ।

प्रकाशित मिति : २०८२ फागुन १८ गते सोमबार