२०८३ वैशाख ९ , बुधबार

नारा लेकको हिउँ पन्छाएसँगै सडक सञ्चालनमा



हुम्लाको नाम्खा गाउँपालिका –५ मा पर्ने ४ हजार ९४९ मिटर उचाइको नारा लेकमा जमेको हिउँ पन्छाएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ। केही समय पहिले परेको हिमपातका कारण यातायात अवरुद्ध बनेको उक्त खण्ड फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै तत्काल सफा गरिएको हो।

कर्णाली करिडोर हिल्सा सिमकोट सडक योजना कार्यालयले नारा लेक क्षेत्रको हिउँ पन्छाएपछि सडक खुलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

आइतबारदेखि सडक सुचारु भएसँगै हिल्सा नाका हुँदै लिमि आवतजावत गर्न सहज भएको जिप्रका हुम्लाका डिएसपी शंकर खड्काको भनाइ छ।

यसैबीच, – सोही गाउँपालिका ६ अन्तर्गत पर्ने ५ हजार २ सय मिटर उचाइको न्यालु लेकमा पनि हिउँ हटाउने काम सुरु गरिएको छ। वडाध्यक्ष पाल्जोर तामाङको नेतृत्वमा टोली त्यसतर्फ गएको हो।

प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार