२०८३ वैशाख १० , बिहीबार

हुम्लामा निर्वाचन प्रहरीले सेवा-सुविधा असन्तुष्टिमा नाराबाजी गर्दै आन्दोलित



आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि खटाइएका ५ सय ९५ निर्वाचन प्रहरीले सेवा–सुविधामा असन्तुष्टि जनाउँदै जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका छन्।

हुम्लाका केही निर्वाचन प्रहरीले यसअघि जानकारी गराइएभन्दा कम तलब दिन लागिएको भन्ने सूचना पाएपछि असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेको बताए ।

निर्वाचन प्रहरीहरूले प्रहरी जवानको प्रारम्भिक तलबमानसरह प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनका लागि ३४ हजार ७७६ रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था छ।

यसका साथै मतदानको दिनअघिपछि चार दिनसम्म प्रतिदिन ३०० रुपैयाँका दरले एकमुष्ट १ हजार २०० रुपैयाँ खाजा खर्च पनि प्रदान गरिनेछ।

सरकारी प्रावधानअनुसार हिमाली क्षेत्रमा खटिने म्यादी प्रहरीले पहाडी र तराई क्षेत्रको तुलनामा केही बढी सुविधा पाउने व्यवस्था रहेको छ।

सोहीअनुसार हिमाली क्षेत्रका निर्वाचन प्रहरीले ११ हजार ५७० रुपैयाँ, पहाडी क्षेत्रमा ७ हजार ९४५ रुपैयाँ र तराई क्षेत्रमा ६ हजार १७० रुपैयाँ थप सुविधा पाउने उल्लेख गरिएको छ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले नियमअनुसार नै सेवा–सुविधा उपलब्ध गराइने बताए। उनले केही गलत बुझाइ (मिसअन्डरस्ट्यान्डिङ) का कारण निर्वाचन प्रहरी आन्दोलित भएको हुनसक्ने बताएका छन्।

प्रकाशित मिति : २०८२ फागुन ५ गते मंगलबार