२०८३ वैशाख १० , बिहीबार

कर्णालीका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाइयो, ५८ जिल्लाको छपाइ सम्पन्न



निर्वाचन आयोगले कर्णाली प्रदेशका १० जिल्लाअन्तर्गत १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाएको छ। आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गरिएको हो।

प्रवक्ता न्यौपानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भइसकेको छ। हालसम्म कुल १ करोड ५७ लाख ७८ हजार मतपत्र छापिएका छन्।

डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम र भोजपुरका लागि मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ।

त्यसैगरी ओखलढुंगा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ र बाँकेका लागि पनि मतपत्र छपाइ सम्पन्न भएको छ।

यसैगरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा र सिन्धुपाल्चोक गरी कुल ५८ जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ सकिएको सहायक प्रवक्ता न्यौपानेले जानकारी दिए।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक तथा प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) निर्वाचन प्रणालीअन्तर्गत मतपत्र छपाइ गत पुस २२ गतेदेखि सुरु गरिएको हो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।

समानुपातिक प्रणालीतर्फ पुस २६ गतेदेखि छपाइ सुरु गरी माघ १३ गतेसम्म २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरिएको थियो। त्यस्तै, प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ माघ १६ गतेदेखि छपाइ सुरु गरिएको र सोअन्तर्गत २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ।

प्रकाशित मिति : २०८२ फागुन २ गते शनिबार