प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै सुर्खेतमा प्रहरीले तालिमप्राप्त कुकुर सहित चेकिङ सञ्चालन गरेको छ।
निर्वाचन सुरक्षा गस्ती तथा चेकिङका क्रममा केनाइन शाखा कोहलपुरबाट खटिएका दुई वटा तालिमप्राप्त कुकुरसहित केनाइन शाखा, जिल्ला प्रहरी कार्यालय सुर्खेत, लागू औषध नियन्त्रण शाखा तथा प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको २५ जनाको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–११ स्थित सुब्बाकुना चेकपोष्टमा विशेष चेकिङ गरेको हो।
चेकजाँचका क्रममा वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइली बस्ने २४ वर्षीय गौरव रावललाई शंकाको आधारमा जाँच गर्दा उनको साथबाट नापतौल नगरिएको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ७ पोका फेला परेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
यस्तै, प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै सुर्खेत जिल्लाका प्रवेश नाका, मुख्य बजार क्षेत्र तथा दुबै निर्वाचन क्षेत्रमा लागू औषध, हातहतियार र विस्फोटक पदार्थको खोजीका लागि तालिमप्राप्त कुकुर तथा प्राविधिक जनशक्तिको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी कार्यालयहरूबाट नियमित गस्ती, चेकिङ तथा सुरक्षा कारबाही जारी रहेको सुर्खेत प्रहरीले जनाएको छ।











प्रतिक्रिया दिनुहोस्