मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशले निर्वाचन आचारसंहिता विपरीत बालबालिकालाई चुनावी गतिविधिमा प्रयोग नगर्न राजनीतिक दलहरूलाई ध्यानाकर्षण गराएको छ।

सञ्जालले सुर्खेतस्थित विभिन्न दलका जिल्ला तथा प्रदेशस्तरीय नेताहरूलाई पत्र बुझाउँदै प्रचार–प्रसार, जुलुस, र्याली, नारा लगाउने तथा पोस्टर टाँस्ने कार्यमा बालबालिकालाई संलग्न नगराउन आग्रह गरेको हो।
सञ्जालका संयोजक पीताम्बर ढकालले विगतका निर्वाचनहरूमा बालबालिकालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रयोग गरिएका घटना देखिएको उल्लेख गर्दै यसपटक दोहोरिन नदिन सबै दल जिम्मेवार हुनुपर्ने बताए।
उनका अनुसार बालबालिकालाई चुनावी गतिविधिमा प्रयोग गर्नु उनीहरूको अधिकारको उल्लङ्घन मात्र नभई शारीरिक, मानसिक तथा मनोसामाजिक सुरक्षामा समेत जोखिमपूर्ण हुन्छ।
संविधान, बाल अधिकार ऐन र निर्वाचन आचारसंहिताले पनि यस्तो कार्य निषेध गरेको सञ्जालको भनाइ छ।
सञ्जालले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलका नेताहरूलाई ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ।
दलका नेताहरूले बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्।
जिल्ला प्रशासन कार्यालय र प्रदेश निर्वाचन कार्यालयले समेत आचारसंहिता उल्लङ्घन भए आवश्यक कारबाही गरिने बताएका छन्।











प्रतिक्रिया दिनुहोस्