निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता, पहुँचयुक्त मतदानस्थलको व्यवस्था र अधिकार सुनिश्चितताका विषयमा पत्रकार तथा मिडिया हाउससँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

अपाङ्गता भएका आदिवासी जनजातिका लागि अनुसन्धान तथा विकास केन्द्र सुर्खेतको आयोजनामा सोमबार वीरेन्द्रनगरमा सम्पन्न कार्यक्रममा निर्वाचन प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूले भोगिरहेका व्यवहारिक समस्या, भौतिक पूर्वाधारको अभाव र सूचना पहुँचका चुनौतीबारे छलफल गरिएको थियो।
कार्यक्रममा मतदान केन्द्रसम्म पुग्ने बाटो, भवन संरचना, शौचालय, संकेत चिन्ह र सहायक सेवाको व्यवस्था अझै पनि पर्याप्त नभएको गुनासो गरिएको थियो। केन्द्रकी अध्यक्ष प्रथमा श्रेष्ठले संविधानले दिएको अधिकार व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै पहुँचयुक्त मतदानस्थलको सुनिश्चितता आवश्यक रहेको बताइन्।
सहजीकरणकर्ता सूर्य भट्टराईले समावेशी निर्वाचनका लागि पूर्वतयारी, सहायक सामग्री र समन्वय अपरिहार्य रहेको उल्लेख गरे।
सहभागीहरूले आगामी निर्वाचनहरूमा पहुँचयुक्त मतदानस्थल निर्माण, सहायक सेवाको सुनिश्चितता र समावेशी नीति कार्यान्वयनका लागि सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेको जोड दिएका थिए ।
अन्तरक्रियामा सहभागी पत्रकारहरूले अपाङ्गता भएका व्यक्तिको मुद्दालाई निरन्तर उठाउने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा २४ जना पत्रकारहरूको उपस्थिति रहेको थियो।











प्रतिक्रिया दिनुहोस्