२०८३ वैशाख ८ , मंगलबार

सामान्य नाम फरक परेका योजना कार्यान्वयन गर्न मन्त्री भण्डारीको निर्देशन



कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सामान्य नाम फरक परेका योजनालाई ढिलाइ नगरी कार्यान्वयनमा लैजान निर्देशन दिएका छन्।

शिक्षा विकास निर्देशनालय मातहत रहेका सामाजिक विकास कार्यालयहरूबीच आयोजित अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले नाम संशोधनको प्रक्रियामा धेरै समय खेर गएको उल्लेख गर्दै अब कार्यान्वयनमा ढिलासुस्ती नगर्न निर्देशन दिएका हुन्।

मन्त्री भण्डारीले ऐनले पूर्ण रूपमा बन्देज लगाएका बाहेकका सबै योजना कार्यान्वयन गर्न सकिने स्पष्ट पारे। बजेट समर्पणको समय नजिकिँदै गएको सन्दर्भमा उनले बजेट कार्यान्वयनतर्फ गम्भीर भएर अघि बढ्न निर्देशन दिए। निर्देशन मात्र दिनेभन्दा पनि प्रत्यक्ष कार्यान्वयनमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।

सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र व्यापक भएकाले जनअपेक्षाअनुसार धेरै गुनासो आउने गरेको उल्लेख गर्दै उनले बजेट खर्च रोक्ने मानसिकताभन्दा समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताए। स्थानीय तह स्पष्ट नभएको अवस्थामा स्थानीय कार्यपालिका लगायत सरोकारवालासँग समन्वय गरेर योजना कार्यान्वयन गर्न सकिने पनि उनले बताए।

मन्त्री भण्डारीले सामाजिक विकास कार्यालयहरू विद्यालय भवन निर्माणमा मात्र सीमित नरही अन्य सामाजिक क्षेत्रका गतिविधिमा समेत सक्रिय हुन निर्देशन दिए। महिला, बालबालिका, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत मानवीय विकास र पूँजी निर्माणमा टेवा पुग्ने कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न उनले जोड दिए।

यसका साथै धार्मिक, साम्प्रदायिक तथा पुरातात्विक सम्पदाको शोध तथा अनुसन्धानमा समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो। आगामी आर्थिक वर्षको योजना निर्माणको समयसमेत चलिरहेकाले योजना छनोट कार्यविधिअनुसार फाइलिङ गर्न निर्देशन दिँदै मन्त्री भण्डारीले विगतका अनुभवबाट सिक्दै आगामी वर्ष नाम संशोधन गर्न नपर्ने गरी योजनाहरू सूचीकृत गर्न सुझाव दिए।

प्रकाशित मिति : २०८२ माघ २६ गते सोमबार