२०८३ वैशाख १० , बिहीबार

सुर्खेतको काँक्रेबिहार जंगलमा किशोर–किशोरी मृत फेला



सुर्खेतको वीरेन्द्रनगर–९ काँक्रेबिहारस्थित जंगलमा सोमबार एक किशोर र एक किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

बिहान सवा ११ बजे घाँस काट्न पुगेका स्थानीयले करौतीको रूखमा झुन्डिएका उनीहरूलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका प्रवक्ता डिएसपी मोहनजंग बुढाठापाका अनुसार मृतकहरूमा वीरेन्द्रनगर–१० खजुराकी १६ वर्षीया किशोरी र जुम्लाको कनकासुन्दरी–७का १८ वर्षीय किशोर रहेका छन्। परिवार र आफन्तले दुवै जनाको सनाखत गरेको प्रहरीले जनाएको छ।

खबरपछि प्रहरी निरीक्षक राजन भट्टराईको कमाण्डमा पाँच जनाको टोली घटनास्थलमा खटिएर मुचुल्का तयार पार्ने कार्य गरिरहेको डिएसपी बुढाठापाले बताए।

आवश्यक प्रक्रिया पूरा गरी शवहरूलाई पोष्टमार्टमका लागि पठाइने भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २०८२ मंसिर ८ गते सोमबार