२०८३ वैशाख १० , बिहीबार

रुकुमपूर्वमा गर्भवती बिरामीकाे हेलिकोप्टरबाट उद्धार



रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी १५ वर्षीय गर्भवती किशोरीलाई आज बिहान हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

आज बिहान करिब पौने १० बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी उनलाई उपचारका लागि सुर्खेत पठाइएको हो। मङ्गलबार बिहान ४ बजे ज्वरोले च्यापेपछि उनलाई स्वास्थ्य चौकी मैकोटमा ल्याइएको थियो।

स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले जाँच गर्दा बिरामीको अवस्था गम्भीर रहेको पाइएको र तत्काल रिफरका लागि प्रमुख जिल्ला अधिकारी लगायत सम्बन्धित निकायलाई जानकारी गराइएको गाउँपालिका स्वास्थ्य शाखाका सह–संयोजक कलिभान विष्टले बताए।

विष्टका अनुसार बिरामीको पेट असामान्य रूपमा बढ्ने, काम्ने र बेला–बेलामा बेहोस हुने लक्षण देखिएका थिए। बच्चा जन्मिने सम्भावित मिति मङ्सिर महिनामा रहेको उनले जानकारी दिए।

गम्भीर अवस्थामा रहेकी गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत मैकोटबाट उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकले जानकारी दिए।

प्रकाशित मिति : २०८२ कात्तिक १८ गते मंगलबार