२०८३ भदौ २७ , शनिबार

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा



सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्। बिहीबार साँझ बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गरेका हुन्।

प्रदेशसभामा सम्बोधन गरेपछि मुख्यमन्त्री शाहले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन्। प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने अवस्था नरहेपछि उनले राजीनामा दिएका हुन्।

गत असार ३१ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समयसीमा बिहीबार पूरा भएको हो।

प्रदेशसभा बैठक साँझ ५ बजे बस्ने तय भए पनि निर्धारित समयभन्दा केही ढिला गरी सुरु भएको थियो। बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले आफूले पाएको जिम्मेवारीअनुसार प्रदेश सरकार सञ्चालनमा काम गरेको बताए। उनले आफ्नो नेतृत्वमा सरकार सञ्चालनका क्रममा भएका कामबारे प्रदेशसभालाई जानकारी गराउँदै अधिकार नदिने काम आफूले गर्न नसक्ने धारणा राखे।

मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। नयाँ सरकार गठनका लागि नेकपा र नेकपा एमालेबीच सहमति भइसकेको बताइएको छ। सहमतिअनुसार नेकपाको नेतृत्वमा नयाँ प्रदेश सरकार गठन गर्ने तयारी छ।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।