दाङको घोराही उपमहानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरिएको छ। घटनामा घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम) संलग्न रहेको आरोप लागेको छ।

विद्यालय व्यवस्थापन समितिको निर्वाचनलाई लिएर उत्पन्न विवादका क्रममा बुढाथोकीले पद्मोदय पब्लिक स्कुलको विद्यालय व्यवस्थापन समितिको निर्वाचन नियमविपरीत गराइएको आरोप लगाउँदै शिक्षा अधिकृत बोहोरामाथि मोबिल खन्याएका हुन्।
घटनाको भिडियो बुढाथोकी आफैंले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। सार्वजनिक भिडियोमा मोटरसाइकलमा सवार बोहोरामाथि हेल्मेट लगाएकै अवस्थामा मोबिल खन्याइएको देखिन्छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घटनामा संलग्न वडा सदस्यको खोजी भइरहेको छ। हालसम्म उनी पक्राउ परेका छैनन्।
स्थानीय स्रोतका अनुसार बुढाथोकीले विद्यालय व्यवस्थापन समितिको निर्वाचन स्थगित गर्न शिक्षा अधिकृत बोहोरामाथि दबाब दिँदै आएका थिए। तर निर्वाचन प्रक्रिया यथावत् अघि बढेपछि उनले आक्रोशित हुँदै यस्तो दुर्व्यवहार गरेको बताइएको छ।
घटनाप्रति स्थानीय स्तरमा व्यापक चासो व्यक्त गरिएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।









