हुम्लामा वर्षायाम सुरु भएसँगै कैलाश–मानसरोवर दर्शनका लागि हुम्लाको सिमकोट हुँदै जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्न थालेको छ।
सिजन सुरु भएको चार दिनमै १६९ जना तीर्थयात्री सिमकोट आइपुगेका छन्। नेपालगन्जबाट हवाईमार्ग हुँदै सिमकोट र त्यहाँबाट हिल्सा नाका भएर चीनस्थित कैलाश–मानसरोवर जाने यात्रुहरूको आगमन सुरु भएको हो।

सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहका अनुसार वैशाख ३० गतेदेखि सुरु भएको यात्रामा हालसम्म १४७ भारतीय र २२ अन्य देशका नागरिक गरी १६९ जना तीर्थयात्री सिमकोट पुगेका छन्।
प्रतिकूल मौसमका बाबजुद शनिबार मात्रै समिट एयरले तीन उडानमार्फत ४७ जना तीर्थयात्री सिमकोट पुर्याएको थियो। तीमध्ये २३ जना भारतीय तीर्थयात्री आवश्यक परमिट नआएका कारण सिमकोटमै रोकिएका छन्।
गत चैत २१ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले परमिट प्रक्रियामा ढिलाइ भएको बताइएको छ।
चार दिनमै उल्लेख्य सङ्ख्यामा तीर्थयात्री आउन थालेपछि यस वर्ष कैलाश–मानसरोवर यात्रामा सहभागी हुने भारतीय पर्यटकको सङ्ख्या अझ बढ्ने अपेक्षा गरिएको छ।
विसं २०७२ को भूकम्पपछि भारतीय पर्यटकले हिल्सा नाका हुँदै कैलाश–मानसरोवर यात्रा गर्न थालेका थिए। कोरोना महामारीका बेला नाका बन्द हुँदा यात्रा रोकिएको थियो। चीन सरकारले गत वर्षदेखि पुनः भारतीय तीर्थयात्रीलाई हिल्सा नाका प्रयोग गर्न अनुमति दिएपछि यात्रु आगमन फेरि बढेको हो।
गत वर्ष चार महिनाको अवधिमा ६ हजार ५०० भन्दा बढी भारतीय पर्यटकले हुम्ला हुँदै कैलाश–मानसरोवरको धार्मिक यात्रा गरेका थिए।









