२०८३ साउन ११ , सोमबार

चौकुनेको समग्र एसईई नतिजामा सुधार, मावि धनरासमा शून्य विद्यार्थी उत्तीर्ण



सुर्खेतको चौकुने गाउँपालिकामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा सुधार देखिएको छ।

गाउँपालिकाले सार्वजनिक गरेको शैक्षिक सत्र २०८१ र २०८२ को तुलनात्मक तथ्याङ्कअनुसार समग्र उत्तीर्ण प्रतिशत ४.८३ ले बढेको हो।

शैक्षिक सत्र २०८१ मा २०.४८ प्रतिशत रहेको उत्तीर्ण दर २०८२ मा बढेर २५.३१ प्रतिशत पुगेको गाउँपालिका शिक्षा शाखाले जनाएको छ। २०८१ मा २४९ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये ५१ जनाले ग्रेड प्राप्त गरेका थिए भने २०८२ मा ३२४ विद्यार्थी सहभागी हुँदा ८२ जनाले ग्रेड प्राप्त गरेका छन्।

विद्यालयगत रूपमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय शोभानचौर चौकुने–३ ले नतिजामा उल्लेखनीय सुधार गरेको छ। उक्त विद्यालयको उत्तीर्ण प्रतिशत १८.१८ बाट बढेर ८७.५० पुगेको छ।

देवस्थान माध्यमिक विद्यालय कुमाला चौकुने–१० को नतिजा २० प्रतिशतबाट ५३.८५ प्रतिशत पुगेको छ भने शिद्वेश्वरी माध्यमिक विद्यालय सानेघारी चौकुने–७ ले १७.३९ प्रतिशतबाट २०.५९ प्रतिशत पुर्‍याएको छ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भट्टेसेरा चौकुने–८ ले १२.५० प्रतिशतबाट २५ प्रतिशतमा सुधार गरेको छ भने जन जागृत माध्यमिक विद्यालय तोस्रा चौकुने–५ को नतिजा २८ प्रतिशतबाट ३२ प्रतिशत पुगेको छ।

यस्तै, केही विद्यालयको नतिजा भने घटेको छ। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लगाम चौकुने–२ को नतिजा १४.२९ प्रतिशतबाट १२.८२ प्रतिशतमा झरेको छ। जीवन ज्योति माध्यमिक विद्यालय झाकमके चौकुने–६ को नतिजा २४ प्रतिशतबाट १८.८७ प्रतिशतमा सीमित भएको छ।

त्यस्तै, जगन्नाथ माध्यमिक विद्यालय विजौरा चौकुने–४ को नतिजा २०.३७ प्रतिशतबाट २० प्रतिशतमा झरेको छ भने सरस्वती माध्यमिक विद्यालय घाटगाउँ चौकुने–१० को नतिजा २७.२७ प्रतिशतबाट २६.१९ प्रतिशतमा घटेको देखिन्छ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धनरास चौकुने–१ मा भने लगातार दोस्रो वर्ष पनि शून्य नतिजा आएको छ। २०८१ मा २ विद्यार्थी सहभागी भए पनि कोही उत्तीर्ण हुन सकेनन् भने २०८२ मा ४ विद्यार्थी सहभागी हुँदा पनि कुनै विद्यार्थीले ग्रेड प्राप्त गर्न सकेनन्।

चौकुने गाउँपालिका शिक्षा शाखा प्रमुख टेकेन्द्र बहादुर  बुढाले समग्र नतिजामा सुधार देखिनु सकारात्मक पक्ष भएको बताउँदै अझै कमजोर नतिजा भएका विद्यालयमा विशेष शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

 ‘यस वर्ष समग्र नतिजामा केही सुधार आएको छ, आगामी वर्ष थप सुधारका लागि शिक्षक, अभिभावक र विद्यालयसँग समन्वय गरेर काम गर्छौं,’ उनले भने।

प्रकाशित मिति : २०८३ जेठ २ गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।