२०८३ साउन १२ , मंगलबार

सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ आयोजना हुने



कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ आयोजना हुने भएको छ ।

नेपाल पर्यटन बोर्ड, वीरेन्द्रनगर नगरपालिका र होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको संयुक्त आयोजनामा आगामी जेठ ८, ९ र १० गते सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ आयोजना हुन लागेको हो ।

सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले कार्यक्रमको तयारी तथा उद्देश्य सार्वजनिक गरेका हुन्।

आयोजकका अनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक हुन लागेको यो सम्मेलनले कर्णालीको पर्यटन विकास, प्रवर्द्धन तथा दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने अपेक्षा गरिएको छ।

सम्मेलनमा नेपालका लुम्बिनी र सुदूरपश्चिम प्रदेशसँगै भारतका उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन व्यवसायी, लगानीकर्ता, ट्राभल एजेन्सी, टुर अपरेटर, होटल व्यवसायी तथा सञ्चारकर्मीहरूको सहभागिता रहने जनाइएको छ। कार्यक्रममा प्रतिष्ठित बायर, सेलर, ट्राभल ब्लगर तथा पर्यटन क्षेत्रका विज्ञहरूको समेत उपस्थिति रहनेछ।

आयोजकले कर्णाली प्रदेश प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, धार्मिक सम्पदा तथा साहसिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र भए पनि अझै पर्याप्त रूपमा विश्वसामु परिचित हुन नसकेको जनाएको छ। सम्मेलनमार्फत पर्यटन प्रवर्द्धन, लगानी आकर्षण तथा व्यवसायिक सहकार्य विस्तार गर्ने लक्ष्य राखिएको छ।

सम्मेलन मार्फत व्यवसायी देखि व्यवसायी  बैठक, नेटवर्किङ कार्यक्रम, पर्यटन गन्तव्य प्रस्तुति, प्रोपर्टी भिजिट, फ्याम ट्रिप, प्राविधिक छलफल, प्यानल डिस्कसन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। 

प्रकाशित मिति : २०८३ वैशाख ३१ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।