
सर्वोच्च अदालतको नयाँ प्रधान न्यायाधीश सिफारिससम्बन्धी निर्णयका लागि सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी रहेको छ ।
प्रधान न्यायाधीश नियुक्तिको विषयमा औपचारिक निर्णय गर्न परिषद् बैठक बसेको हो ।
यसअघि न्याय परिषद्ले प्रधान न्यायाधीश पदका लागि सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम सिफारिस गर्दै संवैधानिक परिषद्को सचिवालयमा पठाएको थियो ।
सिफारिसमा सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम समावेश छन् ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण गत चैत १८ गतेदेखि अवकाशमा गएपछि उक्त पद रिक्त रहेको छ ।
राउतको अवकाशपछि हाल वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कामु प्रधान न्यायाधीशको जिम्मेवारी सम्हालिरहेकी छन् ।
नेपालको संविधानको धारा १२९ को उपधारा (३) अनुसार सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधान न्यायाधीश पदमा नियुक्त हुन योग्य हुने व्यवस्था छ ।
सोही संवैधानिक प्रावधानअनुसार योग्यता पुगेका सबै न्यायाधीशको नाम न्याय परिषद्ले सिफारिस गरेको हो ।
संवैधानिक परिषद्को बैठक जारी रहँदा अब सर्वोच्च अदालतको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा राजनीतिक तथा कानुनी वृत्तमा व्यापक चासो बढेको छ ।
यो पनि :
प्रधान न्यायाधीश नियुक्तिबारे संवैधानिक परिषद्को बैठक सुरु








