कलाकार उत्तम शर्माले आफूले प्राप्त युवा तथा राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ बाट प्राप्त नगद राशी विद्यालयमा अक्षयकोष स्थापना गरेर उदाहरणीय कार्य गरेका छन्।
शर्माले सुर्खेतकाे वीरेन्द्रनगर–१ बांगेसिमलस्थित सरस्वती प्राथमिक विद्यालयमा ‘पुष्पानारायण छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका हुन्। यही विद्यालयबाट उनले प्राथमिक शिक्षा हासिल गरेका थिए।

लोकदोहोरी र झ्याउरे नृत्य विधामा चिनिएका कलाकार शर्माले सोमबार एक लाख रुपैयाँको चेक वडाध्यक्ष दिनेश खत्री र विद्यालयका प्रअ सुर्वणदेव गिरीको उपस्थितिमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भूमिसरा श्रेष्ठलाई हस्तान्तरण गरे। उक्त कार्यक्रममा शर्माका बुबा नारायण र आमा पुष्पा शर्माको पनि उपस्थिति थियो।
बुबा–आमाको नाममा स्थापना गरिएको अक्षयकोषबाट प्राप्त ब्याजले हरेक वर्ष विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले बताए। शर्माले यसअघि पनि विभिन्न पुरस्कारबाट प्राप्त रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन्। उनले आगामी वर्षहरूमा अक्षयकोषको रकम थप वृद्धि गर्ने योजना रहेकाे बताएका छन्।









