२०८३ साउन ११ , सोमबार

‘जाऊँ है पोखरा’ अभियान लिएर कर्णाली पुगे पोखराका होटेल व्यवसायी

पोखरा महानगरपालिकाले घोषणा गरेको “पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन समेत यस अभियानले सहयोग गर्ने बताए ।


पोखराका होटेल व्यवसायी ‘जाऊँ है पोखरा’ अभियान लिएर कर्णाली पुगेका छन् । पर्यटनको सङ्ख्या बढाउन तथा पर्यटनका माध्यमबाट सातै प्रदेश जोड्ने उद्देश्यले होटेल सङ्घ पोखराका पर्यटक व्यवसायी सो अभियान लिएर कर्णाली पुगेका हुन् । उनीहरूलाई सुर्खेत वीरेन्द्रनगरमा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, उद्योग वाणिज्य सङ्घ कर्णालीका अध्यक्ष पदम शाही, होटेल व्यवसायी सङ्घ कर्णालीका अध्यक्ष तप्त बहादुर शाही लगायतकाले स्वागत गरेका छन्  ।

गत वर्ष फागुनमा व्यवसायीहरूले पूर्वी नेपालका विभिन्न सहरमा सो अभियान अभियान सम्पन्न गरिसकेका बताए । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्द्धनमा जेठ २९ गतेदेखि आगामी असार २ गते सम्म पश्चिम नेपालका बुटवल, नेपालगन्ज, सुर्खेत र दाङ ९घोराही० मा जाऊँ है पोखरा सञ्चालन हुँदै छ । उनीहरूले असार १ गते अर्थात् आज (आइतबार)कर्णालीका पर्यटकलाई पोखरा भ्रमण गर्न निम्तो दिएका छन्‌ ।

होटेल सङ्घ पोखराका नेपालका अध्यक्ष एवम् ‘जाऊँ है पोखरा’ अभियानका संयोजक लक्ष्मण सुवेदीले यहाँका पर्यटकलाई पोखरा आउन र पोखराबाट समेत पर्यटकलाई पश्चिम ल्याउने उद्देश्य रहेको बताए । उनले यहाँका पर्यटन व्यवसायीलाई पनि ‘जाऊँ है सुर्खेत’ अभियान लिएर पोखरा आउन आग्रह गरे । ‘यहाँ विभिन्न पर्यटकीय ठाउँ छन् ।

यस्तो रमणीय ठाउँमा पर्यटक भित्राउन सकिएमा आर्थिक आम्दानी हुने सम्भावना राम्रो छ ।’ अध्यक्ष सुवेदीले भने, ‘यस्तो ठाउँ भएका पर्यटन व्यवसायीहरू पनि ‘जाऊँ है सुर्खेत’ अभियान लिएर पोखरा आउनुहोला ।’
साथै उनले पोखरा महानगरपालिकाले घोषणा गरेको “पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन समेत यस अभियानले सहयोग गर्ने बताए ।

अध्यक्ष सुवेदीले पर्यटनका लागि विशेष गरी (कनेक्टिभिटि) महत्वपूर्ण हुने कुरालाई ख्याल गर्दै पश्चिम नेपालका विभिन्न सहरबाट पोखरासम्म सिधा हवाई उडान तथा स्तरीय बस सेवा सञ्चालनका लागि सम्बन्धित सबैको पहल र सक्रियताका लागि समेत अनुरोध गरेका छन् ।


उनले पोखरा र भैरहवामा बनेका अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालनका लागि समेत सबै मिलेर सरकारलाई दबाब दिन जरुरी रहेको बताए ।उनले पोखराको होटेल क्षेत्रमा पाँच खर्ब भन्दा बढी हाराहारीको लगानी रहेको बताउँदै एक हजार दुई सय होटेलमा ४० हजार बेड व्यवस्था रहेको जानकारी दिए ।

प्रकाशित मिति : २०८२ असार १ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।