निर्वाचन आयोगले राजनीतिक दलहरूले गरेको व्यवहारका आधारमा नम्बर दिने व्यवस्था गर्ने भएको छ। आयोगबाट प्राप्त नम्बरका आधारमा राजनीतिक दलहरूले सरकारले प्रदान गर्ने सुविधा पाउनेछन्।
आयोगले ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ सार्वजनिक गर्दै त्यसमा राजनीतिक दलहरू, सरोकारवाला र विज्ञहरूसँग सुझाव मागेको छ।
मस्यौदा कार्यविधिअनुसार राजनीतिक दलको स्वमूल्याङ्कन प्रणालीको सञ्चालन, रेखदेख र निर्देशन गर्न मूल्याङ्कन समिति रहने व्यवस्था गरिएको छ।
निर्वाचन आयोगका सचिवको संयोजकत्वमा रहने उक्त समितिमा आयोगका महाशाखा प्रमुखहरू, सूचना प्रविधि शाखा प्रमुख, नियम तथा फैसला कार्यान्वयन शाखा प्रमुख सदस्य रहनेछन्। राजनीतिक दल व्यवस्थापन शाखा प्रमुखले सदस्य–सचिवको जिम्मेवारी सम्हाल्नेछन्।
समितिले राजनीतिक दलहरूको मूल्याङ्कन, त्यसको सञ्चालन, रेखदेख र निर्देशन गर्नेछ। कार्यविधिअनुसार कुनै दलले स्वमूल्याङ्कन गरे/नगरेको विषयमा छानबिन गर्ने वा गराउने अधिकार पनि समितिसँग हुनेछ।
कार्यविधिमा भनिएको छ, ‘दलले प्राप्त गरेको अंकका आधारमा मूल्याङ्कन सूची तयार गरिनेछ।’ अर्थात्, राजनीतिक दलहरूले गरेका स्वमूल्याङ्कनका आधारमा समितिले दललाई अंक दिनेछ।
दलले पाउने अंकका आधारमा मूल्याङ्कनको नतिजा निर्वाचन आयोगले तयार पार्नेछ। मूल्याङ्कनका आधारहरूमा दलले कानुनबमोजिम गर्नुपर्ने कार्यहरू, निर्वाचनमा सहभागिता र प्रतिनिधित्वजस्ता कुरा समावेश गरिनेछ। स्वमूल्याङ्कन सूचकका आधारमा कुन कामका लागि कति अंक पाउने भन्ने कुरा कार्यविधिमा उल्लेख गरिएको छ।
राजनीतिक दलको स्वमूल्याङ्कन गर्नुपर्ने कारणमा भनिएको छ, ‘ दलको मूल्याङ्कनको नतिजाका आधारमा राज्यबाट प्राप्त हुने सुविधा प्रदान गर्न सहज बनाउन ।’
यी लगायतका अन्य विषयलाई समेत स्वमूल्याङ्कन गर्नु पर्ने कारणमा राखिएको छ ।
(क) दलले कानून बमोजिम गर्नुपर्ने कामकारबाही सञ्चालन गर्न,
(ख) दलले कानून बमोजिम पालना गर्नुपर्ने काम कारबाहीको स्वमूल्याङ्कन गरी दलहरुको आन्तरिक लोकतन्त्रलाई मजबुद बनाउन,
(ग) दलले आफ्नो भावी रणनीति तयार गर्न सहयोग पुर्याउन,
(घ) दलको मूल्याङ्कनको नतिजासंग अन्य विषयलाई आवद्ध गर्न,
(ङ) दलको सवल तथा कमजोर पक्षको पहिचान गरी कार्य सम्पादनमा सुधार गर्न,
(च) दलको समावेशी संगठनात्मक संरचना निर्माण गर्न,
(छ) दलको वित्तीय अवस्थालाई पारदर्शी बनाउन,
(ज) राजनीतिक दलका अन्य आवश्यक कार्य गर्न सहज बनाउन ।











प्रतिक्रिया दिनुहोस्