२०८३ मंसिर १० , बिहीबार

इनर्जी ड्रिङ्क्समा क्याफिनको मात्रा उच्च, बालबालिका र गर्भवतीलाई सेवन नगर्न सुझाव



खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका रोग भएका व्यक्ति तथा क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न आग्रह गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको विभागले इनर्जी ड्रिङ्क्सको सुरक्षित उपभोगबारे उपभोक्ता, उत्पादक तथा सरोकारवालालाई जानकारी गराउँदै यस्तो आग्रह गरेको हो।

विभागले इनर्जी ड्रिङ्क्स सेवन गर्न मिल्ने स्वस्थ वयस्कलाई समेत दैनिक दुई क्यानभन्दा बढी सेवन नगर्न सुझाव दिएको छ। विभागका अनुसार नेपालमा हाल १७ वटा उद्योगले सम्बन्धित निकायबाट अनुमति लिएर इनर्जी ड्रिङ्क्स उत्पादन तथा बिक्रीवितरण गरिरहेका छन्।

उत्पादनको लेबल विवरण तथा प्रयोगशाला विश्लेषण प्रतिवेदनअनुसार नेपालमा उत्पादित इनर्जी ड्रिङ्क्समा प्रतिक्यान १०० मिलिग्राम क्याफिन प्रयोग भएको पाइएको विभागले जनाएको छ।

युरोपेली खाद्य सुरक्षा प्राधिकरण (EFSA) र अमेरिकी खाद्य तथा औषधि प्रशासन (USFDA) लगायतका संस्थाले स्वस्थ वयस्कका लागि सबै खाद्य तथा पेय पदार्थबाट प्राप्त हुने कुल क्याफिन दैनिक ४०० मिलिग्रामभन्दा बढी नहुने गरी सेवन गर्न सकिने वैज्ञानिक आधार प्रस्तुत गरेका छन्। नेपालमा उत्पादित इनर्जी ड्रिङ्क्समा प्रयोग भएको क्याफिनको मात्रा उक्त दैनिक सीमाको २५ प्रतिशतभन्दा कम रहेको विभागको भनाइ छ।

विभागले इनर्जी ड्रिङ्क्सलाई पानी, जुस, दूध, मोहीलगायतका पौष्टिक पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न आग्रह गरेको छ। त्यस्तै, अन्य पेय पदार्थमा मिसाएर समेत सेवन नगर्न विभागले अनुरोध गरेको छ।

उत्पादक तथा विक्रेतालाई प्रचलित कानुनअनुसार आवश्यक अनुमति लिएर मात्र विज्ञापन तथा प्रचारप्रसार गर्न र उत्पादनको लेबलमा उल्लेख गरिएका चेतावनी सन्देश तथा सुरक्षित उपभोगसम्बन्धी जानकारी स्पष्ट रूपमा सम्प्रेषण गर्न विभागले आग्रह गरेको छ।

खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने कार्यलाई प्राथमिकतामा राख्दै वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा खाद्य पदार्थको गुणस्तरसम्बन्धी सूचना सम्प्रेषण गर्न पनि विभागले सरोकारवालालाई अनुरोध गरेको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत कार्य गर्ने व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १२ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।