नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबार (असोज ३) वडा अधिवेशन हुँदैछ।

महाधिवेशनको पूर्वसन्ध्यामा ठूलो संख्यामा नेताहरूले पूर्वसभापति शेरबहादुर देउवाको साथ छाडेर गगन थापा नेतृत्वको कार्यसमितिलाई स्वीकार गर्दै सानेपा पुगेपछि देउवाको साथमा अब को–को बाँकी छन् भन्ने चासो बढेको छ।
दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई स्वीकार गर्न नहुने अडानमा देउवालाई साथ दिँदै आएका मीन विश्वकर्मादेखि रामहरि खतिवडासम्मका नेताहरू बिहीबार (असोज १) सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा पुगेका थिए। उनीहरूले गगन थापा नेतृत्वको केन्द्रीय समिति बैठकमा सहभागी हुँदै १५औँ महाधिवेशन प्रक्रियामा सामेल हुने संकेत गरेका छन्।
यससँगै देउवा पक्षमा रहेका नेताहरूको संख्या पनि घटेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट अधिकांश नेताहरू संस्थापन समूहमा गइसकेका छन्। खड्का भने महाधिवेशनको कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्नुपर्ने धारणा राख्दै आएका छन्।
नेता शेखर कोइराला पनि पार्टी एकताका लागि पहल गर्नुपर्ने बताउँदै दुवै महाधिवेशनमा सहभागी नहुने पक्षमा देखिएका छन्। उनीनिकट केही नेताहरू भने अझै अन्योलमा छन्।
ठूलो संख्यामा नेताहरूले साथ छाडे पनि पूर्वसभापति देउवालाई अझै केही प्रभावशाली नेताहरूले साथ दिइरहेका छन्। देउवा पक्षमा रहेका नेताहरूमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का, मानबहादुर विश्वकर्मा, एनपी साउद, आनन्द ढुंगाना, अम्बिका बस्नेत, शंकर भण्डारी, रमेश लेखक, मोहनबहादुर बस्नेत, शिव हुमागाईं, करणराज शर्मा पौडेल, जितजंग बस्नेत, गुरु बराल, कुन्दनराज काफ्ले, मदन अमात्य, गोविन्दबहादुर शाह, नृपबहादुर वड, रंगमति शाही, विद्या तिमल्सिना, सीतादेवी देवकोटा पाण्डे, लक्ष्मी खतिवडा र कल्याणी रिजाल लगायत रहेका छन्।
यद्यपि, देउवा पक्षमा रहेका भनिएका केही नेताहरू पनि संस्थापन समूहमा फर्किने तयारीमा रहेको बताइएको छ। त्यसैले वडा अधिवेशन सुरु हुनुअघि कांग्रेसभित्रको समूहगत समीकरण अझै परिवर्तन हुन सक्ने देखिन्छ।








