२०८३ भदौ ३० , मंगलबार

दुई लाख घुस लिएको आरोपमा कालिका माविका व्यवस्थापन समिति सदस्यविरुद्ध मुद्दा



कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार बमले विद्यालयमा तोकिएबमोजिमको थप सेवा सुविधा तथा पारिश्रमिक उपलब्ध गराउन निर्णय गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। उजुरीका आधारमा अख्तियारको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा बमले विद्यालय व्यवस्थापन समिति सदस्यको हैसियतमा रहेको पदीय जिम्मेवारीको दुरुपयोग गर्दै सेवा सुविधा उपलब्ध गराउने निर्णय गरिदिने भन्दै सेवाग्राहीसँग बार्गेनिङ गरी आफ्नो निमित्त दुई लाख रुपैयाँ लिएको पुष्टि भएको आयोगले जनाएको छ।

आयोगले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै बमलाई दुई लाख रुपैयाँ बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरेको छ।

प्रकाशित मिति : २०८३ भदौ ३० गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।