२०८३ वैशाख ११ , शुक्रबार

सुर्खेत प्रहरीले चोरीमा संलग्न व्यक्ति समात्यो, गरगहना नगददेखि ल्यापटपसम्म बरामद



सुर्खेतमा शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वैशाख १ गते राति करिब ११ बजे वीरेन्द्रनगर नगरपालिका–११ गाग्रेतालस्थित हरिकला शाहीको घरमा कोही नभएको मौका छोपी अज्ञात व्यक्तिले नगद तथा सुनचाँदीका गरगहना चोरी गरेका थिए।

सोही घटनाको अनुसन्धानका क्रममा प्रहरीले लेकवेशी नगरपालिका–१ बस्ने करिब ५० वर्षीय हरी नारायण कार्कीलाई पक्राउ गरेको हो। प्रहरीले उनको घरमा खानतलासी गर्दा चोरीमा संलग्न सामग्रीहरू फेला पारी बरामद गरेको जनाएको छ।

बरामद सामग्रीमा २ थान ल्यापटप, ३ थान चार्जर, विभिन्न सुन तथा चाँदीजस्ता गरगहना, ५ थान मोबाइल, २ थान सीसी क्यामेरा, ६ थान घडी, २ थान मिक्सर, १ थान गितार, १ थान टेलिभिजन, नगद रु. ३६ हजार ९७ र १२३ थान सिक्का रहेका छन्।

पक्राउ परेका कार्कीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै बरामद गरिएका सामान कसैको हराएको वा चोरी भएको भए प्रमाणसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति : २०८३ वैशाख ११ गते शुक्रबार