२०८३ वैशाख ८ , मंगलबार

सडकदेखि स्मार्ट लाइसेन्ससम्म, यस्तो छ भौतिकमन्त्रीको ७५ दिने कार्यप्रगति



भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधव प्रसाद चौलागाईंले पद सम्हालेको ७५ दिन पूरा भएको छ।

छोटो कार्यकालमै विशेष आयोजना अघि बढाउने, नीतिगत तथा कानुनी सुधार गर्ने र ठेक्का व्यवस्थापनमा प्रगति हासिल गरेको दाबी उनले सार्वजनिक गरेका छन्।

मन्त्री चौलागाईंका अनुसार यस अवधिमा आयोजना प्रशासन, अन्तरमन्त्रालय समन्वय र सेवा प्रवाह सुधारमा उल्लेख्य प्रगति भएको छ।

उनले हाल वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका छन्।

निवर्तमान मन्त्री कुलमान घिसिङले पुस २३ गते राजीनामा दिएपछि चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

घिसिङले तोडेका अधिकांश रुग्ण ठेक्कालाई नयाँ प्रक्रियामार्फत पुनः अघि बढाइएको उनले बताए।

रणनीतिक आयोजना अघि बढाइयो

मन्त्रालयका अनुसार भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा दुई लेन ट्र्याक निर्माण कार्य नेपाली सेनामार्फत अघि बढाउने निर्णय गरिएको छ।

हिमाली क्षेत्रलाई जोड्ने मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला–मुगु–हिल्सा सडकलाई ‘हिमाली विविधता मार्ग’का रूपमा विकास गर्ने पहल पनि गरिएको छ। रारा राष्ट्रिय राजमार्गका केही खण्डलाई रणनीतिक महत्वका सडकका रूपमा अघि बढाइएको मन्त्रालयले जनाएको छ।

नीतिगत र कानुनी सुधार

विद्युतीय सवारी प्रवर्द्धनसम्बन्धी अध्ययन प्रतिवेदन तयार गरिएको छ भने संघीय राजधानी सार्वजनिक यातायात प्राधिकरण नियमावली मन्त्रिपरिषदमा पेश गरिएको छ।

राष्ट्रिय यातायात नीति २०५८ लाई प्रतिस्थापन गर्ने गरी नयाँ नीति २०८२ पनि स्वीकृतिका लागि पठाइएको छ।

यसैगरी वातावरणीय प्रभाव मूल्यांकन (EIA), प्रारम्भिक वातावरणीय परीक्षण (IEE) लगायतका प्रतिवेदन स्वीकृत गरिएको र निर्माण व्यवसायीको मापदण्ड परिमार्जनका लागि समिति गठन गरिएको मन्त्रालयले जनाएको छ।

ठेक्का व्यवस्थापनमा सुधार

मन्त्रालयका अनुसार २३५ रुग्ण ठेक्कामध्ये ४० वटा तोडिएको र बाँकी प्रक्रिया अगाडि बढाइएको छ। नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि प्राविधिक तथा आर्थिक मूल्याङ्कन सम्पन्न भएको छ। रुग्ण आयोजनामा निर्माण व्यवसायीसँग छलफल गरी काम तीव्र बनाइएको मन्त्रालयको दाबी छ।

अन्तरमन्त्रालय समन्वय

आबुखैरेनी–मुग्लिङ सडक विस्तारका लागि निजी जग्गा अधिग्रहण गर्ने निर्णय भएको छ। वन तथा वातावरण र भौतिक मन्त्रालयबीच विकास र वातावरणबीच सन्तुलन कायम गर्ने सहमति भएको छ।

अर्थ मन्त्रालयसँगको छलफलमा गिट्टी–बालुवा प्रयोग, कर प्रणाली सुधार, भुक्तानी प्रक्रिया सहज बनाउने र रोकिने ठेक्का पुनः सञ्चालन गर्ने विषयमा सहमति जुटाइएको मन्त्रालयले जनाएको छ।

सडक तथा पुल निर्माणमा प्रगति

यस अवधिमा १५९ किलोमिटर कालोपत्रे सडक, ३२ किलोमिटर कच्ची सडक, १५ किलोमिटर मर्मत र ४६ वटा पुल निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ। पूर्व–पश्चिम राजमार्गका विभिन्न खण्डमा स्तरोन्नति, सिग्नेचर ब्रिज निर्माण र काठमाडौं चक्रपथ विस्तारका काम अघि बढाइएको छ।

रेल र वैकल्पिक यातायात

पूर्व–पश्चिम रेलमार्गअन्तर्गत विभिन्न खण्डमा जग्गा अधिग्रहण, ट्रयाक निर्माण र अलाइनमेन्ट स्वीकृति गरिएको छ। ‘पोड–वे’ जस्ता वैकल्पिक यातायातको सम्भाव्यता अध्ययन पनि गरिएको मन्त्रालयले जनाएको छ।

सेवा प्रवाहमा सुधार

स्मार्ट सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण सुरु गरिएको छ। सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउन डिजिटल मोबिलिटीसम्बन्धी मापदण्डको मस्यौदा तयार गरिएको छ।

विपद् व्यवस्थापन र पुनर्निर्माण

काठमाडौं–कोदारी सडक र बिपी राजमार्गका क्षतिग्रस्त खण्ड पुनः सञ्चालन तथा पुनर्निर्माणको काम अघि बढाइएको छ। वर्षाअघि नै निर्माण सम्पन्न गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

मन्त्री चौलागाईंले विभिन्न राष्ट्रिय राजमार्ग, करिडोर तथा ठूला आयोजनाको स्थलगत निरीक्षण गरेका छन्। आगामी आर्थिक वर्षका लागि प्राथमिकता निर्धारण, सुधार सुझाव संकलन र दीर्घकालीन योजना तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका लागि सुधारका सुझावहरु सम्बन्धमा प्रतिवेदन तयार भइरहेको।

सो प्रतिवेदन आगामी नेतृत्वलाई हस्तान्तरण गरिने। साथै यसमा हामीले गरिरहेका प्रक्रियामा रहेका र गर्न बाँकी रहेका कार्यहरुको समेत जानकारी दिइने।

प्रकाशित मिति : २०८२ चैत १० गते मंगलबार