२०८३ भदौ २९ , सोमबार

कैलाश यात्राका लागि हुम्लामा भारतिय तीर्थयात्रीको भीड, एकैदिन १४ उडान



 हुम्लाको प्रसिद्व धार्मिक स्थल कैलाश मानसरोवरतर्फको यात्रा गर्ने भारतीय तीर्थयात्रीको संख्यामा हाल उल्लेखनीय वृद्धि देखिएको छ। नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलमा बुधवार मात्रै १५० जना तीर्थयात्रीहरू अवतरण गरेका छन्।

सीता, समिट र तारा एयरलाइन्सले एकै दिन १४ उडानमार्फत ती यात्रुहरूलाई सिमकोट पुर्‍याएका हुन्। सिमकोट विमानस्थलका अनुसार सबै उडानमा अधिकांश भारतीय नागरिक थिए। सडक सञ्जाल नजोडिएको हुम्लामा हाल हवाई यात्रुहरूको भीड बढ्दो छ।

सिमकोट गाउँपालिकाले तीर्थयात्रीबाट प्रति व्यक्ति १,५०० रुपैयाँ राजस्व संकलक गरिरहेको विमानस्थलका राजस्व संकलक दिपेन्द्र भण्डारीले जानकारी दिएका छन्। केही विदेशी पर्यटक मोडर क्षेत्र हुँदै पनि जिल्ला प्रवेश गर्ने गरेका छन्। अधिकांश यात्रु सिमकोटमा एक रात बसी भोलिपल्ट मानसरोवरतर्फ लाग्ने गरेका भण्डारीले बताए।

उनका अनुसार, असार २ गतेदेखि हालसम्मको एक सातामा ३६२ जना भारतीय तीर्थयात्री सिमकोट आइपुगेका छन् । काठमाण्डौँ-केरुङ मार्गको विकल्पका रूपमा हुम्ला-हिल्सा मार्ग छिटो, सहज र लोकप्रिय बन्दै गएको छ। सिमकोटबाट हेलिकोप्टर वा गाडीमार्फत हिल्सा पुग्न सकिने भएकाले यो मार्ग अझ आकर्षक बनेको हो।

कोरोना महामारीका कारण केही समय बन्द रहेको कैलाश यात्रा गत वर्षदेखि पुनः सुरु भएको हो। यसपालि अघिल्लो वर्षको तुलनामा यात्रु संख्यामा वृद्धि हुने अनुमान गरिएको छ। यात्रु संख्याको वृद्धिसँगै सिमकोट विमानस्थल व्यस्त बन्दै गएको छ भने स्थानीय पर्यटन र आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव परेको देखिन्छ। यो मार्गले हुम्लालाई धार्मिक पर्यटनको केन्द्र बनाउने सम्भावना देखिएको छ।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।