फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका रुकुम पश्चिम उम्मेदवार जनार्दन शर्माले १२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । जिल्लाका मुख्य समस्या पहिचान गर्दै ती समस्याको समाधानका लागि स्पष्ट प्रतिबद्धतासहित उनले योजना सार्वजनिक गरेका हुन् ।

आफ्नो निर्वाचन क्षेत्रका जनता र समग्र मुलुकको समृद्धिका लागि नयाँ उत्साहका साथ अघि बढिरहेको उल्लेख गर्दै शर्माले विगतका अनुभवलाई समेट्दै उन्नत नेपाल निर्माणमा योगदान पुर्याउने लक्ष्य रहेको बताए । रुकुम पश्चिमको सर्वाङ्गीण रूपान्तरण र समृद्धिका लागि दृढ संकल्पित रहेको जनाउँदै उनले भौगोलिक चुनौती तथा पछिल्ला प्राकृतिक विपद्ले सिर्जना गरेका अवरोधलाई चिर्दै समुन्नत जिल्ला निर्माण गर्ने साझा लक्ष्य अघि सारेका छन् ।
कृषिको आधुनिकीकरण, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच तथा पूर्वाधार विकासका अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने गरी ठोस योजना कार्यान्वयन गरिने उनको भनाइ छ।
त्यस्तै प्रगतिशील लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित भ्रष्टाचारमुक्त, पारदर्शी र जनउत्तरदायी प्रशासन सञ्चालन गर्ने प्रतिबद्धता पनि प्रतिबद्धतामा उल्लेख छ।
सामाजिक कुप्रथा र विभेद अन्त्य गर्दै न्यायपूर्ण समाज निर्माणका लागि युवा स्वरोजगार, महिला सशक्तीकरण तथा पछाडि पारिएका वर्गको उत्थानलाई प्राथमिकतामा राखिने शर्माले जनाएका छन्ए ।
जिल्लाको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन र स्थानीय उद्यमशीलता प्रवर्द्धनमार्फत आत्मनिर्भर अर्थतन्त्रको आधार तयार पार्ने लक्ष्य पनि कार्ययोजनामा समेटिएको छ। आम नागरिकको विश्वासलाई ऊर्जाका रूपमा ग्रहण गर्दै रुकुम पश्चिमलाई समृद्ध, सुरक्षित र नमुना जिल्ला बनाउने प्रतिबद्धतामा उल्लेख गरेका छन् ।
शर्माले कृषि क्षेत्रमा सिँचाइ अभाव, बजार व्यवस्थापनको समस्या तथा आधुनिकीकरणको कमीलाई प्रमुख चुनौतीका रूपमा औंल्याउनुभएको छ। स्वास्थ्यतर्फ जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सक र प्राविधिक जनशक्तिको अभाव रहेको उल्लेख छ।
शिक्षा क्षेत्रमा भूकम्पपीडित विद्यालय पुनर्निर्माणमा ढिलाइ, सीपमूलक तथा प्राविधिक शिक्षामा कमी, विद्यालयबाहिर रहेका बालबालिकाको समस्या तथा सूचना प्रविधिको अभावलाई चुनौतीका रूपमा पहिचान गरिएको छ।
पूर्वाधारतर्फ वर्षैभरि सञ्चालन हुन नसक्ने सडक, निर्माणाधीन सडकको ढिलाइ, कालोपत्रे तथा मर्मत कार्यमा सुस्तता र पुल अभावलाई पनि समस्याका रूपमा समेटिएको छ।
यस्तै, अतिरिक्त खानेपानी, ऊर्जा तथा विद्युत्, वन–वातावरण र विपद् व्यवस्थापन, अर्थतन्त्र र रोजगारी, पर्यटन, सूचना तथा सञ्चार, सुशासन र सेवा प्रवाह तथा सामाजिक समावेशीकरणसँग सम्बन्धित विविध चुनौतीलाई पनि प्रतिबद्धतामा समावेश गरिएको छ। ती सबै समस्याको समाधानका लागि १२ बुँदामै स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको उम्मेदवार शर्माको दाबी छ।











प्रतिक्रिया दिनुहोस्