२०८३ वैशाख ८ , मंगलबार

जनार्दनलाई जिताउन एमाले उम्मेदवार देवकोटा चुनावी कमान्डर



आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र नेकपा एमालेको संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

मुसिकोटमा बसेको दुवै पार्टीको संयुक्त बैठकबाट ५ सय ५५ सदस्यीय कमिटी निर्माण गरिएको जानकारी आज आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत गराइएको हो।

नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नन्दराम देवकोटाको संयोजकत्वमा गठन गरिएको कमिटीमा दुवै पार्टीका वडा तहसम्मका नेता तथा कार्यकर्ता सहभागी छन्। भोलिदेखि नै संयुक्त चुनावी प्रचार सुरु हुने संयोजक देवकोटाले जानकारी दिए ।

केन्द्रको चुनावी तालमेल अनुसार एमालेका उम्मेदवार देवकोटा आफ्नै उम्मेदवारीबाट पछि हट्दै प्रलोपाका उम्मेदवार जनार्दन शर्मालाई जिताउन लागेका छन् । उनले जिल्लाका सबै एमाले नेता तथा कार्यकर्तालाई प्रत्यक्षतर्फ आँखा चुनाव चिन्हमा मतदान गरी जनार्दन शर्मालाई विजयी गराउन र समानुपातिकतर्फ सूर्य चिन्हमा मतदान गर्न अपिलु्समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्माले साझा उम्मेदवारका रूपमा चुनाव लड्ने अवसर पाएको भन्दै एमालेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।

प्रलोपाका जिल्ला इन्चार्ज गोरखबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा दुवै पार्टीका विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो। शर्माले नेकपा एमाले सँगको तालमेलले आफ्नो जितलाई झन् सुनिश्चित रहेकाे बताएका छन् ।

आफू २०६४ र २०७० को निर्वाचनमा बाहेक अन्य चुनावमा जिल्लामा साझा उम्मेदवारका रूपमा निर्वाचनमा होमिएको र विजय प्राप्त गरेको स्मरण गर्दै उनले यस पटकको निर्वाचनमा पनि साझा उम्मेदवारको रूपमा रहनु आफ्नो लागि गौरवको विषय भएको बताए ।

प्रकाशित मिति : २०८२ माघ १४ गते बुधबार