२०८३ वैशाख ८ , मंगलबार

आम निर्वाचनको कारण कर्णाली उत्सव चैत्र अन्त्यतिर सारियो



कर्णाली प्रदेशको सामाजिक, आर्थिक तथा नीतिगत बहसलाई केन्द्रमा राखेर हरेक वर्ष आयोजना हुँदै आएको कर्णाली उत्सव-कुडा कर्नालीका को मिति आम निर्वाचनका कारण परिमार्जन गरिएको छ। आगामी २०८२ साल चैत्र २८, २९ र ३० गते सुर्खेतको वीरेन्द्रनगरस्थित सिटी हल प्राङ्गणमा उत्सव आयोजना गरिने आयोजकले जनाएको छ।

यसअघि हरेक वर्ष फागुन ५, ६ र ७ गते आयोजना हुँदै आएको कर्णाली उत्सव सरकारले फागुन २१ गते आम निर्वाचन घोषणा गरेसँगै देशभर सिर्जना भएको निर्वाचनको माहोललाई ध्यानमा राख्दै चैत्र अन्त्यतिर सारिएको हो।

विगत छ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको कर्णाली उत्सवले नीति, सुशासन, अर्थतन्त्र, संस्कृति तथा कर्णालीको पहिचानसँग सम्बन्धित विविध विषयमा खुला सार्वजनिक संवादको साझा मञ्च प्रदान गर्दै आएको छ।

आयोजकका अनुसार सहभागी, साझेदार संस्था, वक्ता, स्वयंसेवक तथा शुभेच्छुकहरूको निरन्तर साथ र सहयोगले उत्सवलाई निरन्तरता दिन सम्भव भएको हो।

उत्सवसम्बन्धी विस्तृत कार्यक्रम, सत्र तथा सहभागी विवरण आगामी दिनहरूमा क्रमशः सार्वजनिक गरिने आयोजक परिवारले जनाएको छ।

प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार