२०८३ वैशाख १० , बिहीबार

स्वास्थ्य कारण देखाउँदै हृदयाराम थानीले उम्मेदवारी नदिने घोषणा



नेपाली कांग्रेसबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका हृदयाराम थानीले स्वास्थ्य समस्याका कारण उम्मेदवारी नदिने घोषणा गरेका छन्।

थानीले  जारी प्रेस वक्तव्यमा  पछिल्लो करिब दुई महिनादेखि ढाडसम्बन्धी समस्याबाट पीडित रहेको र उपचारका क्रममा रहेकाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएको जनाएका छन्।

चिकित्सकको सल्लाहअनुसार हाल घरमै फिजियोथेरापीको सहयोगमा उपचार भइरहेको उल्लेख गरिएको छ।

पत्रमा थानीले देश जनआन्दोलनपछिको संक्रमणकाल, अप्रत्याशित राजनीतिक घटनाक्रम र अन्योलको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै संविधानलाई व्यवहारमा उतार्न र मुलुकको स्थायित्वका लागि समयमै निर्वाचन सम्पन्न हुनु आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

स्वास्थ्य अवस्थाका कारण मनोनयन दर्ता तथा त्यसपछिका सक्रिय राजनीतिक गतिविधिमा संलग्न हुन नसक्ने अवस्था देखिएकाले उम्मेदवारी नदिने निर्णय गरिएको थानीको भनाइ छ।

उनले आफूलाई विश्वास, साथ, सहयोग र माया प्रदान गर्ने सम्पूर्ण पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा मतदाताप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सक्रियताका साथ जनताको साथमा रहने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार