२०८३ वैशाख १० , बिहीबार

प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना



आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले ठूलो संख्यामा निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया सुरु गरेको छ।

प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी आवश्यक पर्ने भन्दै सूचना सार्वजनिक गरेको छ। सूचनाअनुसार इच्छुक नेपाली नागरिकले पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदन दिन सक्नेछन्।

आवेदन सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म बुझाउन सकिने व्यवस्था गरिएको छ। निर्वाचन प्रहरी बन्नका लागि आवेदकले १८ वर्ष पूरा गरेको र ५४ वर्ष ननाघेको हुनुपर्नेछ।

भर्ना भएका निर्वाचन प्रहरीको सेवाअवधि कम्तीमा ४० दिन रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ। निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन सरकारले निर्वाचन मिति तय भएसँगै आवश्यक जनशक्ति व्यवस्थापनमा जोड दिएको हो।

प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार