२०८३ वैशाख १० , बिहीबार

समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिइन् ट्राभलर सृजना ओली



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूचीमा समावेश भई पछि नाम फिर्ता लिएकी ट्राभलर सृजना ओलीले उक्त निर्णय हतारमा भएको महसुस भएपछि नाम फिर्ता लिएको स्पष्ट पारेकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले आफू यात्रामा रहेका बेला अचानक आएको प्रस्तावका कारण पर्याप्त छलफल र सोचविचार गर्न नपाएको बताएकी छन्।

ओलीका अनुसार उनी पछिल्ला तीन महिनादेखि देशका विभिन्न छ वटा गन्तव्य समेटिएको एक्स्प्लोरेसन यात्रामा थिइन्। उक्त यात्रा भिडियो निर्माणभन्दा पनि ढोरपाटन लगायतका क्षेत्रमा पर्यटन र ट्राभल सेक्टरमा नयाँ सम्भावना खोज्ने उद्देश्यले गरिएको थियो।

यात्राकै क्रममा रुकुम पश्चिम जाँदै गर्दा ‘टिम बालेन’ बाट फोन आएर समानुपातिक बन्दसूचीमा नाम सिफारिस गर्ने विषयमा जानकारी दिइएको उनले उल्लेख गरेकी छन्। “म यात्रामा थिएँ, निर्णयका लागि समय चाहिन्छ भनेकी थिएँ,” उनले लेखेकी छन्, “तर देशका लागि योगदान दिने अवसर भन्ने सोचले तत्काल ‘नाइँ’ भन्न सकिनँ।”

उनका अनुसार त्यसपछि केही दिनसम्म सो विषयमा थप संवाद भएन। पछि नागरिकताको प्रतिलिपि मागिएपछि पठाइएको र भोलिपल्ट बन्दसूचीमा आफ्नो नाम सार्वजनिक भएको जानकारी पाएको बताएकी छन्।

नाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमा बधाइदेखि आलोचनासम्मका प्रतिक्रिया आएपछि आफूले निर्णय पुनर्विचार गरेको ओलीको भनाइ छ। “यो निर्णय अलि हतारमा भएछ कि भन्ने लाग्यो,” उनले उल्लेख गरेकी छन्।

ओलीले बुवाको राजनीतिक पृष्ठभूमिसँग जोडेर आएका टिप्पणीप्रति पनि असन्तुष्टि जनाएकी छन्। उनका अनुसार उनका बुवा जन्मिनुअघि देखि नै राजनीतिमा संलग्न रहे पनि आफूले कहिल्यै परिवारको नाम प्रयोग गरेर अघि बढ्ने प्रयास नगरेको बताइन्। “आजसम्म मैले गरेका सबै निर्णयहरू मैले आफैंले गरेकी छु,” उनले लेखेकी छन्।

वन विज्ञानमा स्नातक गरेकी ओली विगत केही वर्षदेखि सोलो ट्राभल र गन्तव्य प्रवर्द्धनमा सक्रिय रहँदै आएकी छन्। कर्णाली, सुदूरपश्चिम र पूर्वी पहाडी भेगका लुकेका गन्तव्यलाई चिनाउने अभियानमा संलग्न उनी दिगो पर्यटन, स्थानीय रोजगारी र ग्रामीण अर्थतन्त्रसँग पर्यटन जोड्नुपर्ने पक्षमा रहेको बताउँछिन्।

“हामीले लाखौँलाई देशमै रोक्न नसकेका होला, तर हजारौँलाई ‘देशमै केही गर्न सकिन्छ’ भन्ने आशा देखाइरहेका छौँ,” उनले उल्लेख गरेकी छन्।

ओलीले हाल आफू राजनीति प्रवेश नगर्ने स्पष्ट पार्दै समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिएको जानकारी दिएकी छन्। यात्रामा रहेकाले जानकारी दिन केही ढिलाइ भएको उनको भनाइ छ।

“राजनीति बाहिर बसेर पनि आफ्नो दक्षता अनुसार देशका लागि काम गर्न सकिन्छ,” उनले लेखेकी छन्, “अहिले मलाई राजनीतिमा आउन दबाब नदिनुहोस्।”

उनले आगामी दिनमा पनि पर्यटन क्षेत्रलाई सशक्त बनाउने दिशामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार