२०८३ वैशाख १० , बिहीबार

दलीय गतिविधिमा संलग्न तीन मन्त्रीलाई प्रधानमन्त्री कार्कीको राजीनामा निर्देशन



प्रधानमन्त्री सुशीला कार्कीले दलीय गतिविधिमा संलग्न भएको भन्दै सरकारका तीन मन्त्रीलाई पदबाट हट्न निर्देशन दिएकी छन्। चुनावी प्रयोजनका लागि गठन गरिएको गैरदलीय सरकारमा रहेर दलगत क्रियाकलापमा लागेको आरोपमा शहरी विकासमन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदिश खरेल र युवा तथा खेलकुलमन्त्री बब्लु गुप्तालाई राजीनामा दिन प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी हुन्।

प्रधानमन्त्री कार्कीले केही दिनअघि व्यक्तिगत रूपमा आग्रह गरेकी भए पनि सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उक्त विषय औपचारिक रूपमा उठाउँदै पुनः पद छाड्न भनिएको स्रोतले जनाएको छ।

भदौमा भएको जेनजी आन्दोलनपछि चुनावी व्यवस्थापनका लागि गठन गरिएको सरकारमा प्रधानमन्त्री कार्कीले गैरदलीय पृष्ठभूमिका व्यक्तिहरूलाई मात्र सहभागी गराएकी थिइन्। राष्ट्रपति तथा विभिन्न राजनीतिक दलहरूले दलका प्रतिनिधिलाई सरकारमा समेट्न आग्रह गरे पनि उनले अस्वीकार गर्दै गैरदलीय सरकार गठन गरेकी थिइन्।

तर चुनाव नजिकिँदै जाँदा केही मन्त्रीहरू सरकारी जिम्मेवारीभन्दा दलीय गतिविधिमा सक्रिय भएपछि सरकारको निष्पक्षतामाथि प्रश्न उठ्न थालेको थियो। यही कारण प्रधानमन्त्रीले उनीहरूलाई पदबाट हट्न निर्देशन दिएकी हुन्।

शहरी विकासमन्त्री घिसिङले सरकारमै रहँदा ‘उज्यालो नेपाल पार्टी’को संरक्षक बनेर निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। उक्त दललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मिसाउने प्रयासमा उनी स्वयं संलग्न रहेको बताइएको छ। घिसिङ काठमाडौँ–३ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा समेत जुटेका छन्।

सञ्चारमन्त्री खरेल र युवा तथा खेलकुलमन्त्री गुप्ता पनि रास्वपासँग नजिकिएर दलीय गतिविधिमा संलग्न रहेको र आगामी निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्ने तयारीमा रहेको जनाइएको छ।

गैरदलीय उद्देश्यका साथ गठन गरिएको सरकार क्रमशः ‘रास्वपाको सरकार’ जस्तो देखिन थालेको भन्दै सञ्चारमाध्यम र सार्वजनिक वृत्तमा आलोचना सुरु भएपछि प्रधानमन्त्री कार्कीले कडा कदम चालेको विश्लेषण गरिएको छ।

प्रकाशित मिति : २०८२ पुस २२ गते मंगलबार