नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक उडानतर्फको इन्धन शुल्क (फ्युल सरचार्ज) घटाएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटाएपछि क्यानले नयाँ सरचार्ज समायोजन गरेको हो।
नयाँ दरअनुसार ट्रंक रुटका लागि प्रतिमिनेट ६८.०९ रुपैयाँ र दुर्गम क्षेत्रका लागि प्रतिमिनेट ४८.६४ रुपैयाँ इन्धन शुल्क कायम गरिएको छ। यससँगै आन्तरिक उडानको अधिकतम भाडा दर घटेको क्यानले जनाएको छ।

नयाँ भाडा दरअनुसार काठमाडौँ–धनगढी रुटमा सबैभन्दा धेरै २६५ रुपैयाँले भाडा घटेको छ भने काठमाडौँ–सिमरा रुटमा सबैभन्दा कम ५५ रुपैयाँले घटेको छ। यस्तै, माउन्टेन फ्लाइटमा २१० रुपैयाँ, काठमाडौँ–लुक्ला ८० रुपैयाँ, काठमाडौँ–जोमसोम १२० रुपैयाँ, काठमाडौँ–फाप्लु ७० रुपैयाँ, काठमाडौँ–जुम्ला १९० रुपैयाँ र नेपालगन्ज–सिमिकोटमा १२० रुपैयाँ फ्युल सरचार्ज समायोजन गरिएको छ।
यद्यपि सरचार्ज घटे पनि तत्काल यात्रु भाडामा प्रत्यक्ष असर नपर्ने क्यानको भनाइ छ। हाल एयरलाइन्सहरूले लिँदै आएको भाडा अधिकतम भाडा दरभन्दा निकै कम भएकाले व्यस्त समयमा भने यसले भाडा सीमा निर्धारणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया दिनुहोस्