राष्ट्रियसभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले सातै प्रदेशका निर्वाचन अधिकृत खटाएको छ। प्रदेश राजधानीमा हुने निर्वाचनका लागि राजधानी रहेको जिल्लाका जिल्ला न्यायाधीशलाई अधिकृतको जिम्मा दिइएको हो।
आयोगले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार कोशी प्रदेशमा मोरङ जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाई निर्वाचन अधिकृत तोकिएका छन्। मधेश प्रदेशका लागि धनुषा जिल्ला अदालतका न्यायाधीश शुभाषबाबू पुरीलाई जिम्मेवारी दिइएको छ। बागमती प्रदेशमा मकवानपुर जिल्ला अदालतका न्यायाधीश गिता श्रेष्ठ निर्वाचन अधिकृत बनेकी छन्।
यसैगरी गण्डकी प्रदेशमा कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासे, लुम्बिनी प्रदेशमा दाङ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डित, कर्णाली प्रदेशमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश दिपक ढकाल र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्ला अदालतका न्यायाधीश भुवनसिंह थापालाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ।
निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार यी नियुक्ति पुस १५ गतेदेखि कार्यान्वयनमा आउनेछन्। तोकिएका निर्वाचन अधिकृतहरूले १६ गते देखि सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा आफ्नो कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी काम अघि बढाउनेछन्।











प्रतिक्रिया दिनुहोस्