कर्णाली प्रदेशको राजधानी सुर्खेतमा माघ ९ देखि १४ गतेसम्म राष्ट्रियस्तरको अपाङ्ग खेलकुद कार्यक्रम आयोजना हुने भएको छ।

शनिबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा पारा फाउन्डेसन सुर्खेतका अध्यक्ष किशोर शाहीले अपाङ्गता भएका व्यक्तिहरूको खेलकुद क्षमता अभिवृद्धि गर्ने, समावेशी खेलकुदको प्रवर्द्धन गर्ने तथा अपाङ्ग खेलाडीहरूलाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए।
वीरेन्द्रनगरमा हुने कार्यक्रममा देशभरका सातै प्रदेशसहित दुई विभागीय टोली सहभागी हुने उनले बताए ।
कार्यक्रममा २०० भन्दा बढी ह्विलचेयर खेलाडीको सहभागिता रहनेछ। चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ह्विलचेयर बास्केटबल (महिला तथा पुरुष), ह्विलचेयर क्रिकेट (टी–२०), ह्विलचेयर दौड र ह्विलचेयर डान्स समावेश छन्।
ह्विलचेयर बास्केटबल कर्णाली प्रदेश रंगशालामा र क्रिकेट कालिञ्चोक क्रिकेट मैदानमा आयोजना गरिनेछ भने ह्विलचेयर दौड वीरेन्द्रनगर विमानस्थलदेखि बाङ्गेसिमलसम्म सञ्चालन हुनेछ।
आयोजकले समावेशी खेलकुद प्रवर्द्धन, अपाङ्ग खेलाडीको क्षमता उजागर र कर्णाली पनि राष्ट्रियस्तरका कार्यक्रम आयोजना गर्न सक्षम रहेको सन्देश दिन कार्यक्रम महत्वपूर्ण हुने जनाएको छ।










प्रतिक्रिया दिनुहोस्